धरानः तेस्रो सियोन फुटसल प्रतियोगिता धरान १० स्थित धरान फुटसलको मैदानमा आजबाट सुरु भएको छ ।
सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा २० वटा टिम सहभागी भएका छन् । उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका धरानका मेयर तिलक राईले धरान खेलकुदको शहर रहेको बताउँदै विगत केही वर्षदेखि धरानमा इन्डोर फुटसल प्रतियोगिता आयोजना हुँदै आएको बताए ।
मेयर राईले भने, ‘फुटसलको गतिविधिले गर्दा धरान क्षेत्रलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसंख्यक खेलाडीहरु छन् ।’
धरानका सिंगो नगरबासीहरु, सम्पूर्ण जातजाती वर्ग समुदाय र धार्मिक संघसंस्थाहरु पनि खेलमय रहेको उहाँले धारणा व्यक्त गरे । धरानबासी खेल र खेलकुदसँग सम्बन्धित छन् । ‘खेलाडीहरु पनि आफै खेलसँग सम्बन्धित भएर पुग्दैन, त्यो खेलाडीहरुको अभिभावक, विभिन्न संघसंस्थाहरु र धार्मिक संघसंस्थाहरु, यहाँको सम्पूर्ण मन अन्तरआत्मा चाँहि खेल भावनासँग सम्बन्धित रहेको मैले महशुस गरेको छु’ उनले भने ।
मेयर राईले सियोन चर्च, सियोन स्कुल र आयोजक टिमलाई धन्यवाद दिँदै प्रशंसा समेत गरे । उनले यस फुटसल प्रतियोगिताले फेरि पनि धरानलाई खेलकुदको शहरको रुपमा स्थापित गर्नका लागि सहयोग पुगेको बताए । ‘२० वटै सहभागी फुटसल टिमलाई खेल भावनासँग खेलले एक किसिमको सद्भाव, आत्मीयता र परस्पर संस्कृतिक पक्षहरुलाई आदानप्रदान गर्ने, त्यसले आत्मीयता, प्रेम, भावना दर्शाउने गर्दछ’ उनले भने । उनले २० वटै टिमलाई आत्मियतापूर्वक खेल्न समेत आग्रह गरे ।
प्रतियोगिता शनिबार समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । साथै म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।