धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ मा ३४ जना प्रतियोगी छनौटमा परेका छन् ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान–१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा ३४ जना प्रतियोगी छनौटमा परेका हुन् । यो ८ औं संस्करण हो ।
प्रदेश १ का विभिन्न जिल्लाका ४९ जना प्रतियोगीबाट यतिको संख्यामा प्रतियोगी छनौट भएका हुन् । प्रतियोगितामा सुनसरीका अरुण राई, कल्पना तामाङ, विक, प्रकाश विक, रञ्जीत माझी, रिजन लोहनी, कल्याणी लिम्बू, जुलियस राई, सोनिया मुर्मु, सुवास श्रेष्ठ, सुमन लिम्बू, अजुमा राई, प्रेरणा राई, निशा तामाङ, सन्तोष लिम्बू, अविरल शाही, निरा खापुङ, सालिन श्रेष्ठ, निशा राई छनौटमा परेका छन् ।
यस्तै, पाँचथरका अर्जुन राई, धनकुटाकी पवित्र राई, मोरङका निकेश थापा मगर, उदयपुरका अर्जुन राई, खोटाङकी एशिका राई, भोजपुरका साजन राई, निशान गजमेर मोरङकी अनुष्का ढकाल, भोजपुरका अमिन सोताङ राई, बलबहादुर राई, बबिता गुरुङ, धनकुटाका सुज शाक्य, उदयपुरका राजन राई छनौटमा परेको आयोजक संस्थाका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार विशाल राई, मनोज मोते थिए । छनौट भएका प्रतियोगीबाट यही शनिबार टप २० छनौट गरिने उनले जानकारी दिए । यो तेस्रो चरणको अडिसन हुनेछ ।
बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले २०७० सालदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ भने सुन्दरी प्रतियोगिता ०७४ सालदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङवाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलेनबाबु लिम्बू (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदमबहादुर मगर (२०७५) र २०७६ मा मोरङका सुमिन राइ रहेका छन् । लुकेर रहेको प्रतिभालाई उजार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको संयोजक राईले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज








