धरानः देशविदेशसम्म चर्चित बनेको बुढासुब्बा गोल्डकप अन्ततः यसपटक भने नहुने भएको छ ।
२२ औं संस्करणसम्म भव्यताका साथ सम्पन्न भएको प्रतियोगिता २३ औं संस्करणमा आइपुग्दा स्थगित भएको हो । कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसकेपछि प्रतियोगिता स्थगित भएको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । यस्तै, प्रतियोगिता स्थगित हुनुमा २२ औं संस्करणको पुरस्कार राशीको आर्थिक भारका कारण पनि २३ औं संस्करण गर्न नसकेको उनको भनाइ छ ।
उनले माओवादी द्वन्द्वकाल होस् वा मधेश आन्दोलन र एन्फा विवादमा पनि प्रतियोगिता आयोजना भएको तर यसपटक रोकिँदा आफूहरु पनि दुःखी भएको बताए । ‘२०५५ सालदेखि निरन्तर चल्दै आएको प्रतियोगिता २२ औं संस्करणसम्म आइपुग्दा रोकिन पुग्यो, यो खबरले हामी पनि दुःखी छौं, खेलकुदप्रेमी जनता, खेलाडी दुःखी भएका छन्, यसमा क्षमा चाहन्छौं’, अध्यक्ष राईले भने, ‘प्रतियोगिता रोकिनुको मुख्य कारण कोरोना कहर नै हो तर पनि सम्बन्धित निकायहरुबाट पनि प्रतियोगिताका लागि समयमै आर्थिक सहयोग नपाउनु अर्को कारण हो भन्ने हामीले महसुस गरेका छौं ।’
उनले धरान उपमहानगरपालिका, प्रदेश सरकारलगायत कहीँकतैबाट आर्थिक सहयोग हुन नसकेको गुनासो गरे । ‘प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको थियो र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट सहयोग आउँथ्यो त्यही भएर प्रतियोगिता आयोजना गर्न सकेनौं ।’
उनले धरान उपमहानगरपालिका र प्रदेश सरकार नै असहयोगी बनेको आरोप लगाए । ‘धरान उपमहानगरपालिकाले गोल्डकपको अभिभावकत्व ग्रहण गर्न सकेन’, उनले भने, ‘प्रदेश सरकारबाट पनि दिनुपर्ने रकम आइपुगेन ।’ उनले अघिल्लो संस्करणमा प्रदेश सरकारले १० लाख दिने भनेपनि ५ लाख दिएको उनले जानकारी दिए । उनले राखेपबाट ८ लाख बजेट आउने गरेपनि २२ औं संस्करणमा ५ लाख मात्रै पाएको बताए ।
२२ औं संस्करणको अनुमानित बजेटमा प्रदेश सरकारबाट प्राप्त हुने १० लाख र राखेपबाट प्राप्त हुने पाँच लाख रुपैयाँ अहिलेसम्म प्राप्त हुन नसक्दा २२ औं संस्करणका बिजेतालाई पुरस्कार दिन नसकेको उनले स्पष्ट पारे । ‘बिजेता टिम मनाङ मस्र्याङ्दी क्लबलाई पुरस्कार १० लाख उपलब्ध गराउनुपर्नेमा हालसम्म २ लाख ५० हजारमात्रै उपलब्ध गराएका छौं, बाँकी रकम बुझाउन बाँकी नै छ, यस्तै, उपविजेता नेपाल पुलिस क्लबलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन सकेका छैनौं’, उनले भने ।
उनले प्रतियोगिताको २३ औं संस्करण २०७८ मा आयोजना हुने जानकारी दिए । ‘जसले जति रकम दिने भनेर बोलकबोल गरी विनियोजन पनि गरेका थिए, त्यो रकम प्राप्त गर्नका लागि हामी सम्बन्धित निकायमा घच्घच्याउने प्रयास जारी छ, हामी बिजेता, उपविजेतालाई पुरस्कार राशी चाँडोभन्दा चाँडो दिनेछौं र आर्थिकरुपमा मजबुत भइसकेपछि २०७८ मा मात्रै २३ औं संस्करण आयोजना हुने जानकारी गराउँदछौं ।’ तस्वीर/भिडिओः लक्ष्मण थापा