Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कलेजस्तरको पहिलो बास्केटबल प्रतियोगिता

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानमा कलेजस्तरको पहिलो बास्केटबल प्रतियोगिता

धरानः लकडाउनको कारण रोकिएको प्रदेश १ स्तरीय बराह गु्रप बास्केटबल प्रतियोगिता चैत्र २ गतेदेखि सम्पन्न हुने भएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताको विषयमा आयोजकले शनिबार बराह किचनमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
गत वर्ष चैत्र ७ देखि १२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने सम्पूर्ण तयारी भइसकेपनि अन्तिम चरणमा कोरोना कहरले प्रतियोगिता रोकिएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
धरान–१२ स्थित हिमालयन मेघा कलेजको बास्केटबल कोर्टमा आयोजना हुने प्रतियोगितामा छात्रतर्फ १३ र छात्रातर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् । बिजेता टिमले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, छात्रातर्फका बिजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।
प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइस्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने धरान बास्केटवल संघका अध्यक्ष एवं बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।
व्याचलर लेवलका २३ वर्षमुनिका खेलाडीहरुले सहभागिता हुन पाउने प्रतियोगितामा धरान, विराटनगर, बिर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको छ । सहभागी कलेजहरुमा छात्रतर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, सियोन स्कुल, सिटी कलेज, एम्स, सगरमाथा, विकेभिएम विराटनगर, धरान आदर्श र विष्णु मेमोरियल रहेका छन् ।
त्यस्तै, महिला टिमहरुमा डिपोट, धरान आदर्श, विष्णु, हात्तिसार, सियोन र विराट नर्सिङहोम रहेको छ । प्रदेश १ मा कलेजस्तरमा पहिलोपटक हुन लागेको प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा बराह गु्रप रहेको छ ।
प्रतियोगिताको समापनको दिन फाइनल खेलअघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । नेपालको चर्चित गायक तथा पूर्व बास्केटबल खेलाडीसमेत रहेका प्रकाश पौडेलको सहयोगमा थ्री पोइन्ट सुट कम्पिटिसन हुन लागेको सुनसरी अध्यक्ष सुवेदीले जानकारी दिए । १ मिनटको समयमा जसले बढी थ्री पोइन्ट एरियाबाट बास्केट गर्छ उही नै विजयी हुनेछ । विजेताले जनही नगद ३ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
यसैगरी समापनको दिन नै बास्केटबल खेलको विकासमा योगदान पुरयाउने धरान–१८ रत्न चौक निवासी स्व. कुलबहादुर सेनिहाङ लिम्बूलाई सम्मान समेत गरिने भएको छ । उनलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो ।
तस्वीरः सञ्जय याक्खा

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend