धरानः धरानमा प्रदेश १ स्तरीय बराह छात्रछात्रा अन्तर कलेज बास्केटबल प्रतियोगिताको पहिलोदिन केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार महिला पुरुष टिम, धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आदर्श बहुमुखी क्याम्पस र सियोन स्कुल विजयी भएका छन् ।
२३ वर्षमुनिका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगताको पहिलो खेलमा छात्रतर्फ हात्तिसार कलेजले एम्स एकेडेमीलाई ३०–२२, धरान मेघा कलेजले सगरमाथा एसडी कलेजलाई २८–२६, विकेभिएम विराटनगरले टावर टेम्पल बिर्तामोडलाई ३२–२९, डिपो कलेजले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८–२४ र सियोन स्कुलले सिटी कलेजलाई २७–२१ अंकले पराजित गरेका थिए । त्यस्तै, छात्रातर्फ हात्तिसार टिमले धरान आदर्श टिमलाई १६–११ अंकको अन्तरले पराजित गरेका छन् ।
धरान बास्केटबल संघको अयोजना तथा बराह गु्रपको मुख्य प्रायोजनमा धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सोमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सभामुख प्रदीप भण्डारीले गरेका छन् । उनले पानसमा दीप प्रज्ज्वलन गर्दै रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

चैत्र ५ गतेसम्म सम्पन्न हुने प्रतियोगितामा प्रतियोगितामा धरान, विराटनगर, बिर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको छ । सहभागी कलेजहरुमा छात्रतर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, सियोन, सिटी कलेज, राष्ट्रिय जनसहयोग इटहरी, टावर टेम्पल बिर्तामोड, एम्स, सगरमाथा, विकेभिएम विराटनगर धरान आदर्श र विष्णु मेमोरियल रहेका छन् ।
त्यस्तै छात्रा टिमहरुमा डिपोट, धरान अर्दश, विष्णु, हात्तिसार, सियोन र विकेभिएम रहेको छ । विजेता टिमले पुरुषतर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । छात्रातर्फ बिजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनले खेलअघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने आयोजकले जनाएको छ ।
नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा धरान–१७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराई, धरान–१८ वडाध्यक्ष प्रविण राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी, एन्फा प्रदेश १ सचिव नविन राई, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, युवा नेता दीपक बनेपाली, युवा व्यवसायी सम्राट श्रेष्ठ, बराह गु्रप जनसम्पर्क प्रमुख सुरेन्द्रसिंह विश्वकर्मा, समन्वय समिति प्रमुख भोलानाथ दाहाललगायतको उपस्थिति रहेको थियो । भोलिको खेल हात्तिसार र सियोन, महेन्द्र र मेघा, विकेभिएम र विष्णु, डिपो र धरान आदर्श र महिला तर्फ डिपो र विकेभिए विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।
तस्वीरः सञ्जय याक्खा
