
बिर्तामोडः झापामा पाँचतारे ‘होटल मेची क्राउन’ सञ्चालनमा आएपछि भारतीय पर्यटक बढेका छन् ।
भारतीय पर्यटकलाई लक्षित गरी पाँचतारे होटल सञ्चालनमा आएपछि पर्यटकलाई पनि सहज बनेको सञ्चालकमध्येका बलराम सापकोटाले जानकारी दिए । अहिले दिनमै तीन–चार टोली भारतीय पर्यटक भित्रिन थालेको उनले जानकारी दिए ।
बंगलादेश, भुटान र भारतीय पर्यटकलाई लक्ष्य गरेर नेपालको पूर्वी द्वार मेचीनगर (धुलाबारी) मा यो होटल सञ्चालनमा आएको हो । होटलमा व्यवसायी पवित्रकुमार कार्की, सापकोटा, राजकुमार बस्नेत र जयराम अर्याललगायतको लगानी छ ।
भारतीय सीमाबाट नजिक भएकाले सीमा पारीबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल सञ्चालनमा आएको सापकोटाले जानकारी दिए । डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको मेचीक्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दीपक हस्पिटालिटी’ ले लिएको छ । होटलको आर्किटेक्ट इन्जिनियर शैलेन्द्र बिसी र घनश्याम उप्रेतीले गरेका हुन् । होटलमा तीन हजार क्षमताको ठूलो व्याङ्वेट हलसहित तीनवटा सेमिनार हल छन् ।
आठ बिघा क्षेत्रफलमा फैलिएको मेची क्राउन परिसरमा होटलसँगै क्यासिनो, जिमहाउस, व्यापारिक मल, स्वीमिङ पुललगायत सुविधा छन् । यस्तै, होटलमा १०५ वटा लक्जरी रुम छन् । होटल परिसरमै हरियाली पार्क, पानीको आकर्षक फोहोरा, हेलीप्याड, पार्किङ जोनको सुविधा उपलब्ध छ ।
यो प्रदेश १ को पहिलो पाँचतारे होटल हो । होटलले करिब ९ सय जनालाई रोजगारी दिने भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष समेत रहेका पवित्रकुमार कार्कीले जानकारी दिए ।
संसारभरिका खानाको स्वाद, नेपालका आदिवासीको विशिष्ट मौलिक परिकारसमेत होटलमा उपलब्ध हुने उनले जानकारी दिए । चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित यो होटल भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।
यस्तै, झापाको बिर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँचतारे होटल सञ्चालनको तयारीमा छ । यस्तै, प्रदेश १ कै इटहरीमा पनि पाँचतारे होटल सञ्चालनको तयारीमा छ ।








