Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टमाटर फलाउन विधि र प्रविधि चाहिन्छ

हाम्रो कोशी आवाज
चैत्र ५ २०७७, बिहिबार
टमाटर फलाउन विधि र प्रविधि चाहिन्छ

परिचय(Introduction):
गोलभेडा(Lycopersicum esculentum) सोलानेसी परिवारमा पर्ने एक महत्वपूर्ण तरकारी बाली हो।गोलभेडा विश्वमै सुरक्षात्मक तरकारीको रूपमा प्रयोग गरिने र धेरै ठाउँमा उत्पादन हुने तरकारी बाली हो।गोलभेडाको उत्पत्ति मेक्सिको बाट भएको हो।गोलभेडा भिटामिन, खनिज, जैविक अम्लीयको धनी स्रोत पनि हो।नेपालमा गोलभेडालाई सरकारले आवश्यक खाद्यवस्तुको रूपमा लिएको छ।गोलभेडालाई सिधै कच्चा तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ।जस्तैःस्यान्डविच,सलाद,आदिमा।धेरै मात्रा मा संसाधित वस्तुहरु जस्तै सिरप,प्यूरी, जुस,केचपहरु पनि बनाउने गरिन्छ।कब्जा बिरामीहरूको लागि गोलभेडाको सूप प्रयोग गर्नाले रोगलाई नियान्त्रण पनि गर्न सकिन्छ।गोलभेडालाई Poor man’s orange र Love apple पनि भनिन्छ।
हावापानी(Climate):

हाम्रो देशमा पहाड, उपत्यका, तराई, बेसी, फाँट आदि भएकोले विविध किसिमका हावापानी पाईन्छ।गोलभेडा चिसो मौसममा भन्दा न्यानो मौसममा व्यापक रूपमा उत्पादन गर्न सकिन्छ।यसलाई चाहिने उचित तापक्रम दिउँसोमा

30℃ र राती 20℃ हो।यदि दिउँसोको तापक्रम 35℃ भन्दा धेरै भयो भने बिरुवाको वृद्धि कम हुने समस्या देखिन्छ। त्यसैगरी रातीको तापक्रम 30℃ भन्दा धेरै भयो भने गोलभेडा रातो नहुने समस्या देखिन्छ।

◆ माटो(Soil):

गोलभेडा प्रायः सबै किसिमको माटोमा खेती गर्ने गरिन्छ।तर राम्रो सगँ पानी बग्ने, माथिल्लो तहमा हल्का बालौटा र भित्री तहमा राम्रो मलिलो भएको माटोमा उत्पादन राम्रो हुन्छ। गोलभेडा खेतीको लागि माटोको PH 6.0-7.0 हुनुपर्छ।

◆गोलभेडाका जातहरुः

सिर्जना, अमिता, विशेष, नुतन, मनिषा, नविन, सुरक्षा, लप्सि गेडे, अविनाश, रोमा, एन-६५, स्मिता, थिम्स-१, पुसा, अलराउण्डर,भीम, मनप्रेकस, आदि।

◆बेर्ना उत्पादनः

बेर्ना उत्पादन गर्न माटो राम्ररी तयार गरेको हुनुपर्छ।१ मी. चौडाई र १०-१५ से.मी. अग्लो उठेको ब्याड तयार गर्नुपर्छ।

बीउहरू ब्याडमा ७-१० से.मी. फरक लाइनमा २ से.मी. गहिरो हुने गरी लगाउनु पर्छ।बीउ रोपेपछि ब्याडलाई सुकेको पराल वा खरले छापो दिनुपर्छ।३-५ हप्तामा बेर्ना सार्ने लायका हुन्छन्।

◆जग्गाको छनौट(Site selection):

गोलभेडा खेतीको लागि पारिलो तथा पानी राम्रो सँग निकास हुने र हलुका दोमट भएको ठाउँ रोज्नुपर्छ।व्यावसायिक रूपमा खेती गर्नेहरूले बजार नजिक, बाटोको सुविधा तथा सिंचाईको सुविधा भएको स्थान रोज्नुपर्छ।

◆जमीनको तयारी(Land preparation):

जग्गा छनौट भईसकेपछि माटोमा रहेका अन्य झारपात हटाउनुपर्छ।पानी लगाउने कुलो तथा पानी निस्कासितको लागि कुलेसा पनि राम्रो सगँ बनाउनुपर्छ।

◆बीउ/बेर्ना दर(ग्राम वा संख्या):

अग्लोजातः ५-७ ग्राम

होचोजातः५-१० ग्राम

◆रोप्ने दूरीः

बिरुवा रोप्ने दूरी माटोको मलिलोपन, जात,प्लास्टिको घर भित्र गर्ने हो कि, खुल्ला ठाउँमा गर्ने हो भन्ने कुरामा भर पर्छ।साधारण किसिमको मलिलोपन भएको माटोमा विभिन्न जातहरूलाई रोप्ने दूरीः

जात हरू (लाईन-लाईन×बोट-बोट)से.मी.

मनप्रेकस = ७५ × ६०

रोमा, र्सिजना = ७५ × ४५

पुसा रुवी, सुरक्षा = ७५ × ७५

सुधारिएको प्लास्टिकको घरमा गोलभेडा लगाउने हो भने,

लाईन-लाईन(से.मी) × बोट-बोट(से. मी.)

९० × ७३

◆मलखादः

गोलभेडालाई कति मलखाद दिनुपर्छ भन्ने कुरा माटोको मलिलोपन , जात र याममा भरपर्छ।तर साधारणरूपमा तल दिए अनुसारको मलखाद प्रतिरोपनी हाल्नुपर्छ।

मलखाद(के.जी./रोपनी)

गोलभेडा अग्लोजातः

कम्पोष्ट=१५००

यूरिया=१०

डि.ए.पी=९

म्युरेट अफ पोटाश=४

होचोजातः

कम्पोष्ट=२०००

यूरिया=१०

डि.ए.पि=१०

म्युरेट अफ पोटाश=७-५

माटोमा चिस्यान कम छ भने रासायनिक मल हाल्नासाथ सिंचाई गर्नुपर्छ।

◆लगाउने समयः

नेपालको क्षेत्र अनुसार मौसम फरक फरक भएको कारणले गर्दा, गोलभेडा खेती गर्ने समयपनि फरक पर्छ।

तल दिइएअनुसारको समयमा गोलभेडा खेती गर्नुपर्छ।

गोलभेडा अग्लोजातः डालिला, र्सिजना

उच्च पहाडी क्षेत्रः चैत-जेठ

मध्य पहाडी क्षेत्रःफागुन-भाद्र

तराई/बेंसी क्षेत्रःभाद्र-कार्तिक

गोलभेडा होचोजातःसुरक्षा, रोमा, अमरुता, पुसी रुवी,आदि।

उच्च पहाडीःवैशाख-जेठ

मध्य पहाडीःफागुन-साउन

तराई/बेंसीःभाद्र-माघ

◆सिंचाई(Irrigation):

बालीको राम्रो उत्पादनको लागि पानीले प्रमुख भूमिका खेलेको हुन्छ।सिंचाई गर्ने कुरा माटोको किसिम र मौसममा भर पर्ने कुरा हो।गर्मीयाममा दोमट माटोको लागि ५-१० दिनको फरकमा सिंचाई गर्नुपर्छ।चिसो मौसममा धेरै सिंचाई गर्नु हुदैन।फललागि सके पछि लामो समयपछि सिंचाई गरिएमा फल फुट्छ।बढी पानी पनि गोलभेडाले सहन सक्दैन।

◆गोडमेल(Weeding):

बिरुवा सारेको २५-३० दिनसम्म झारपातलाई उखेल्न बढी ध्यान दिनुपर्छ।झारपातले उत्पादनमात्र नभै बालीको गुणस्तर समेत घट्न जान्छ।गोलभेडाको बेर्ना सारेको १५ दिनमा पहिलो गोडमेल गरी युरियाको प्रयोग गर्नुपर्छ।यसैगरी बेर्ना सारेको ३० दिनमा दोस्रो गोडमेल गरी युरियालाई दोस्रो टपडेसिग़ गर्नुपर्छ।बोटको वृद्धि भैरहने जातहरु,जस्तैः मनप्रेकस, पुसालाई थाक्रो चाइन्छ। बिरुवा ठूलो हुन थालेपछि १मि. अग्लो बाँसको थाँक्रो दिई बिरुवालाई अड्याउनको लागि डोरीले हलुका सगँ बाँध्नुपर्छ।

◆बाली टिपाईः

गोलभेडाको फल टिप्ने अवस्था बजार को दूरी अनुसार हुन्छ।यदि गोलभेडा टाढाको बजारमा पठाउने हो भने,फलहरु राम्ररी छिप्पिएको र भर्खर पाक्न सुरु भए पछि टिप्नुपर्छ।गोलभेडा केही दिनभित्र बजार पुर्याउँदा पुर्याउँदै पाक्छन्।यदि गोलभेडा नजिकैको बजारमा बिक्री गर्ने हो भने चाहिँ गोलभेडालाई बोटमै राम्ररी पक्न दिएपछि टिप्नुपर्छ।

गोलभेडामा लाग्ने मुख्य किराहरुः

१.गोलभेडा फलको गवारो(Fruit borer)

हुर्केका लाभ्रेले फुल, कोपिला, चिचिलि र फल खान्छन।फलहरुमा प्वाल पनि पार्दछन।जसले गर्दा खेतीमा नोक्सान हुन पुग्छ।

व्यवस्थापनः

– सोलानेसी परिवारका बालि(आलु, क्याप्सिकम, खुर्सानी, आदि) लगाएका खेतबारीमा गोलभेडा खेती नगर्ने

– किराहरु टिपेर मार्ने

– जैविक विषादी बि.टि १-२ एम एल/१ लिटर पानीमा मिसाएर प्रयोग गर्ने
– Thiodan, Cypermethrin पनि प्रयोग गर्न सकिन्छ।

२. सेतो झिंगा(white fly)

यस किराले रस चुसेर खाने गर्छ र पातहरु पहेला हुन्छन्।बोटमा फल र फुल कम लाग्ने हुन्छ।

व्यवस्थापनः

– निमजन्य विषादी पानीमा मिसाएर प्रयोग गर्ने

– पहेलो स्टिकि ट्रायापको प्रयोग गर्ने

– रोगर २ एमएल/लिटर पानीमा मिसाएर छर्ने
३.लिफ माईनर(Tuta Absoluta)

यो किराले पुरै पात सुकाएर खैरो बनाउछ।यसले डाठ, फलमा पनि असर पुराउँछ।

व्यास्थापनः

– गाई-भैसीको पिसाब १ भागमा १० भाग पानी मिसाएर ३-४ दिनको फरकमा छर्कने

– निमजन्य विषादी ३ एमएल/लिटर पानी मा मिसाएर छर्कने
गोलभेडामा लाग्ने मुख्य रोगहरुः

१. बेर्ना कुहिने रोग(Damping off)

ब्याडमा भएका बेर्नामा जमिनको सतहको डाँठ कुहिने, ढल्ने र मर्ने हुन्छ।

व्यवस्थापनः

– प्रत्येक साल ब्याड बनाउने ठाँउ फेर्ने

– ब्याडको चिस्यान बढी हुन नदिने

– क्याप्टान र थिरामले बिउको उपचार गरेर मात्र बिउ लगाउनु पर्छ।

– बिउ पतालो छर्ने र बाक्लो भएमा पातलो बनाउने
२. अगौटे डढुवा(Early Blight)

सुरुमा पुराना पातहरुमा खैरो दाग देखा पर्छ।पछि गएर ति दाग बढ्दै जान्छ

र खैरो दागको वरीपरी पहेलो रिग़ जस्तो आकार देखिन्छ।बिस्तारै यो रोग बढ्दै जान्छ र फल झर्छ।रोग व्यापक रूपमा बढे पछि बोट सुक्छ।

व्यवस्थापनः

– रोग निरोधक जातः सिर्जना लगाउने

– बोट काटँछाटँ गर्ने, सबै भागमा घाम पर्ने बनाउने

– रोग लाग्न अघि नै १ हप्ताको फरकमा बोरेडक्स मिक्स गरेर छर्कने
-यदि प्रकोप बढ्दै गएमा म्यन्कोजेब नामक विषादी १.५ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कने
डढुवा(Late Blight)

धेरै चिसो र कुहिरो लागेको समयमा गोलभेडाको तल्लो पातहरुमा साना पानी भिजेको जस्तो अनियमित आकारका गाढा दागहरु देखा पर्छ।तर यसमा पहेला दाग देखिदैन।

व्यवस्थापनः

– घुम्ती बाली अप्नाउने

– डाइथेन एम-४५ वा क्रिनोक्सिल १ ग्राम प्रति लिटर पानीमा मिसाएर ५-६ दिनमा २ पटक छर्कने।

४. फ्युजारियम रोग(Fusarium Wilt)

सुरुमा पुराना पातहरु पहेलिन्छन् र विस्तारै सबै बोटनै ओइलाउँछ।यो ढुसी बिउ बाट सर्दछ र माटोमा बस्दछ।

व्यवस्थापनः

– रोगसगँ सहने सक्ने जात लगाउने

– माटोको उपचार गर्ने

– सोलानेसी परिवारका बाली(खुर्सानी, भान्टा, आलु) लगाएको जमीनमा गोलभेडा खेती नगर्ने
५. व्याक्टेरियल रोग(Bacterial Wilt)

सुरुमा कलिला पातहरु ओइलाउने र पछि पुरै बोटनै ओइलिन्छ।

व्यवस्थापनः

– प्लान्टोमाइसिन १ ग्राम प्रति लिटर पानी मा मिसाएर बनाएको झोललाई बोटको जरा भिज्ने गरी हप्तामा २ पटक राख्ने ।

शारीरिक विकार

रोग तथा किराहरू बाहेक गोलभेडामा अरू समस्या पनि देखिन्छ जस्ले गर्दा किरा रोगले जस्तै असर पर्दछ।

१. फलको टुप्पो कुहिने

यो समस्या फल लाग्ने बेलामा क्याल्सियमको कमीले देखिन्छ।मौसममा अत्यधिक परिवर्तनको कारणले पनि देखिन्छ।

व्यवस्थापनः

– माटोमा क्याल्सियमको कमी भएमा खेती लगाउने भन्दा अगाडी जिप्समको प्रयोग गर्ने

– कुहिएको फललाई टिपेर नष्ट गर्ने
२. फल चर्किने

चर्को घाम वा धेरै वर्षा पछि लामो समय सुख्खा भएमा फल चर्किने समस्या देखिन्छ।

व्यवस्थापनः

– बाली टिप्ने समयमा सिचाई गर्नु हुदैन

– फल नचर्किने खालको जात लगाउने
३. थोरै फल लाग्ने

धेरै दिनसम्म अत्यधिक तापक्रम हुदाँ , माटोमा बढी सुख्खापन हुदाँ, धेरै नाइट्रोजन भएमा र बिरुवाबाट ६ घण्टा भन्दा कम घाम पर्दा थोरै फल लाग्ने समम्या देखिन्छ।

व्यवस्थापनः

-माटोमा सुख्खापन हुन नदिने

-घाम लाग्ने पारिलो ठाउँमा लगाउने निशा विद्यार्थी हुन् ।

प्रकाशित मिति: चैत्र ५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend