धरानः प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा डिपो क्याम्पसले छात्रातर्फको उपाधि जित्यो भने महेन्द्र क्याम्पसले छात्रतर्फको उपाधि जितेको छ ।
बिजेता छात्रा टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने छात्रतर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, कार्यक्रमका सभाध्यक्ष नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, बराह गु्रपका पब्लिक रिलेशन अफिसर सुरेन्द्रसिंह विश्वकर्मा, नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव कुवेर गुरुङ, युवा नेता पूर्ण भुजेल चिन्तन, युवा नेता भुवन याक्खा, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
छात्रातर्फको फाइनल खेलमा डिपोले विष्णु मेमोरियल स्कुललाई ४२–६ र छात्रतर्फ महेन्द्रले डिपो क्याम्पसलाई ४३–३७ अंकले पराजित गरेका थिए । खेलमा डिपो र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०–२,८–०,११–२ र १३–२ र छात्रतर्फको खेलमा महेन्द्र र डिपोले प्रत्येक क्वाटरमा ८–६,१२–३,१३–८ र ११–२० अंक जोडेका थिए ।
छात्रातर्फ सेमीफाइनल खेलमा डिपोले सियोन स्कुल, विष्णुले केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । छात्रतर्फ सेमीफाइनलमा डिपोले सियोन स्कुल र महेन्द्रले विकेभिएम विराटनगरलाई पराजित गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी डिपोका कविन मगर र छात्रातर्फ लियालिसा श्रेष्ठ घोषित भए । हाइस्कोरर महेन्द्र क्याम्पसका सर्वोधन राई र डिपोकी सितल तामाङ, उदयीमान खेलाडी सियोनका साहिल तामाङ र विष्णुकी निभा चेम्जोङ र फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रका गौरभ ओझा र विष्णुकी लिङवा मावोहाङ घोषित भए ।
उत्कृष्ट खेलाडी विजेताले जनही नगद दुई हजार रुपैयाँ, हाइस्कोर विजेताले जनही नगद एक हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र, सप अर्डरका डिस्काउन भौचर, धरान फिटनेस क्लबको तीन महिना फ्री सर्भिस र डिमाण्डु ज्वाइ खानाका पाँच सय रुपैयाँ बराबरको फुड भौचर प्राप्त गरेका छन् । प्रतियोगिता अवधिभर हाइस्कोरर सर्वोधनले ६३ र सितलले ४४ व्यक्तिगत अंक जोड्न सफल भएका थिए ।
धरान बास्केटवल संघको आयोजना, बराह गु्रपको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघ र धरान उपमहानगरपालिकाको सहयोगमा सपन्न प्रतियोगितामा प्रदेश १ भरिका १३ पुरुष र ६ महिला टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका सम्पूर्ण खेल धरान–१२ स्थित मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।
फाइनल खेलअघि सम्पन्न भएको प्रकाश पौडल थ्री पोइन्ट कम्पिटिसनका विजेता डिपोकी लियालिसा श्रेष्ठ र धरान मेघाको सन्तोष तामाङ भएका छन् । छात्रातर्फको कम्पिटिसनमा लियालिसाले ६ थ्री पोइन्ट सट र पुरुषतर्फ सन्तोषले ४ थ्री पोइन्ट सट बास्केट गरेका थिए । विजेताले जनही नगद तीन हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, सप अर्डरका डिस्काउन भौचर र डिमाण्डु ज्वाइँ खानाको ५ सय रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।
तस्वीरः सञ्जय याक्खा
