धरानः धरानमा शिक्षासेवी स्वयंप्रकाश शर्माको निधन भएको छ ।
८१ वर्षको उमेरमा उनको शुक्रबार २ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए ।
धरानको शिक्षाक्षेत्रमा शर्माको महत्वपूर्ण योगदान रहेको छ । महेन्द्र क्याम्पसमा त्रिभुवन विश्वविद्याालयको अंग्रेजी विषयमा एमए सुरुवात गर्न उनको ठूलो योगदान छ । यसैले पनि उनले शिक्षा क्षेत्रमा गरेको योगदान स्मरणीय छ ।
उनले नन्दीरात्री, शान्ति विद्यागृह काठमाडौंमा झन्डै १५ वर्ष पढाएका थिए । उनले महेन्द्रमा २०३९ देखि ६० सम्म अध्यापन गराएका थिए । थुप्रै विषयगत लेखहरु समेत लेखिसकेका उनी समिट स्कुलको फाउन्डर समेत रहेका थिए ।
कान्छा भाइ प्रा.डा. राजेन्द्र शर्माका अनुसार उनको अन्त्येष्टी सोमबार वा मङ्गलबार गरिनेछ । ‘अष्टेलियामा रहेका छोरा फर्कन समय लाग्नेभयो’, उनले भने, ‘त्यही भएर उनी फर्केपछि मात्रै सोमबार अथवा मङ्गलबार अन्त्येष्टी गरिनेछ ।’
शर्माकी धर्मपत्नी कल्पना शर्माको पनि १७ महिनाअघि देवसान भएको थियो । उनको एक छोरा र तीन छोरी छन् । उनका दाजुभाइमध्ये माधव पोखरेल डाक्टर छन् भने गोविन्द शर्मा इन्जिनियर र राजेन्द्र शर्मा प्राध्यापक हुन् ।