धरानः नेपाल पशुपन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बनेको सरकारले दाबी गरेको छ ।
पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ । सरकारका अनुसार धूलो दुध, बटर, अण्डा र मासुको उत्पादनमा नेपाल आत्मनिर्भर बनेको हो । यद्यपि, हालसम्म नेपाल माछा र दुधको उत्पादनमा भने आत्मनिर्भर बनिनसकेको सरकारी भनाई छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।
धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ ।
नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ । यस्तै, घिउ १२ सय मेट्रिकटन उत्पादन हुने गरेको र सबै खपत हुने गरेको पनि मन्त्रालयले जनाएको छ ।