धरानः इलाका प्रहरी कार्यालय धरानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने तिलबहादुर माझीलाई सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले उनलाई शुक्रबार सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । तिलबहादुरले धरान-८ दुर्गापथस्थित आफ्नै घरमा वर्ष ३५ की सम्झना भन्ने कमला माझीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
घटनास्थलबाट खुकुरी समेत बरामद गरी खुकुरी प्रहार गर्ने माझीलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी सम्झनालाई तत्कालै स्थानीयको सहयोगमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाउँदा मृत्यु भएको थियो ।
