- धरानः धरानमा मोबाइल मर्मत र सिलाइ कटाइ तालिम सञ्चालन भएको छ ।
शुक्रबारदेखि मोबाइल मर्मत तालिममा ४० जना युवायुवतीहरु सहभागी छन् भने एकहप्ता अघिबाट शुरु भएको सिलाइ कटाइ तालिममा २० जना महिलाहरु सहभागी भएका छन् । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको समृद्धि परियोजनाको सहयोग तथा हेल्भाटास नेपालको प्राविधिक सहयोगमा धरान–१५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा तालिम सञ्चालन भइरहेका छन् ।
तालिमका संयोजक गणेश तामाङका अनुसार ४० जनालाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका मोबाइल मर्मत तालिम दिन सुरु गरिएको हो । मोबाइल मर्मत तालिममा १२ जना युवतीहरुले समेत सहभागिता जनाएका छन् । प्रशिक्षार्थीहरुलाई सिटिभिटीको पाठ्यक्रमअनुसार ३ सय ९० घण्टा (६५ दिन) समय अवधिभर तालिम दिइने तामाङले बताए । उनले अहिले समृद्धिको प्रोजेक्टअन्तर्गत दुई वटा तालिम दिन थालिएको जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकाका सामाजिक शिक्षा अधिकृत भक्तिराज शर्माले तालिम उपलब्धीमूलक र आत्मनिर्भर बन्न सहज हुने बताए । तालिमको अनुगमन तथा निरिक्षण धरान उपमहानगरपालिकाले गर्ने उनले बताए । ‘यो कार्यक्रम विशेष गरेर टाइम पासको लागि मात्र होइन, यसले भोली गएर हामी आफ्नै स्थानीय तहमा केही गर्छौ, जसले चाहिँ गर्दा भोलि गएर स्वरोजगार हुन्छौं ।’ उनले भने ।
उनले तालिममा सहभागि भएकाहरुलाई ६५ दिने तालिम सकिएपछि सहभागीहरुको धरान उपमहानगरपालिकामा अभिलेख राख्ने बताए । ‘उपमहानगरपालिकाले पनि मन्त्रालयसँग सहकार्य गरेर यस्तै तालिमका प्याकेजहरु सञ्चालन गर्छौ’ उनले भने ।