धरानः सप्तकोसी नदीको बीच भागमा रहेको खुवालुङ ढुङ्गाको अध्ययनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ पुगेका छन् ।
मंगलबार किरात समुदायका अगुवा र प्राविधिक टोलीसहित मुख्यमन्त्री राई खुवालुङ पुगेका हुन् । उनले त्यहाँ समुदायका अगुवासँग छलफल समेत गरेका थिए ।
मुख्यमन्त्री राईसहित प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, योजना आयोगका उपाध्यक्ष प्याकुरेलसहित प्राविधिक टोली पनि त्यहाँ पुगेको थियो ।
उनले खुवालुङको संरक्षण गर्नुपर्ने बताएका छन् । खुवालुङको प्रवद्र्धनका लागि आवश्यक कार्ययोजना बनाएर प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईलाई खुवालुङबारे पहिल्यै ज्ञापनपत्र प्राप्त भइसकेको बताएका छन् । उनले खुवालुङका कारण सबै कुरा बन्द नहुने र विभिन्न विकल्पमा छलफल गरेर निर्णय गर्ने बताए । ‘सार्न मिल्ने भए सारेर संरक्षण गर्ने, विशेष खालको केन्द्र बनाउने, नदीको बहाव मोड्ने जस्ता विकल्प रहेका छन्’, उनले भने ।

तमोर, सुनकोसी र अरुणको त्रिवेणीमा रहेको खुवालुङले जेटबोट र स्टिमर सञ्चालन गर्न बाधा पुरयाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टिमर सञ्चालनका लागि ढुङ्गोलाई फुटाउने भनेपछि त्यहाँ विरोध भएको थियो । किरात समुदायले यसप्रति विरोध गर्दै आएका थिए । पहिचानसँग जोडिएको खुवालुङ फुटाउन नहुने भन्दै किरात समुदायले भन्दै आएका छन् ।
किरात समुदायको सभ्यतासँग जोडिएको खुवालुङलाई कुनै पनि बहानामा फुटाउनै नहुने आफूहरुको जोड रहेको किरात राई यायोख्या केन्द्रीय समिति अध्यक्ष दिवस राई बताउँछन् ।
यसअघि सुनसरी, भोजपुरलगायतका जिल्लामा ढुंगा फुटाउन नहुने भन्दै संघर्षका कार्यक्रम सुरु गरेका थिए । भोजपुर, उदयपुर, धनकुटाको संगमस्थलमा रहेको यो ढुंगालाई किरात राई भाषामा खुवालुङ भनिन्छ । किरात समुदाय यसलाई किरात संस्कृति र सभ्यताको प्रतीक मान्छन् ।
