Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेले बनाए लोभलाग्दो ब्याग

हाम्रो कोशी आवाज
चैत्र १९ २०७७, बिहिबार
धरानेले बनाए लोभलाग्दो ब्याग

धरानः अब धराने महिला थाकलको ब्याग बनाउन सक्ने भएका छन् ।
धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको माथिल्लो तलमा उनीहरुले यस्तो सीप सिकेका हुन् । धरान–१५ की सिर्जना नेपालले घरमै बसेर पनि कमाउन सकिने आशाले तालिम लिएको सुनाइन् । ‘खासमा भन्ने हो भने यस्तो तालिम लिँदा महिलाले सीप सिक्ने हुन्, सीप सिकेपछि एकदिन न एकदिन त काम लाग्छ नि,’ उनले भनिन्, ‘त्यही भएर घरमै बसेर पनि कमाउन सकिन्छ भनेर लागिपरेको हुँ ।’
सुनसरीका महिला धरानमा यसरी सीप सिक्न तम्सिएका हुन् । धरान, इनरुवालगायतका महिला सीप सिक्न व्यस्त रहेका हुन् ।
सीप सिकिरहेकी इनरुवा–६ की देवीमाया पुरीले जंगलको झारले ब्याग बुनेर आत्मनिर्भर हुन पाउँदा खुशी लागेको बताइन् । उनले सीप सिकिसकेपछि इनरुवामा पुगेर महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउने अठोट लिएको बताइन् । ‘पहिला शुरुमा त बिनाबित्थामा तालिम लिएको भन्ने लागेको थियो तर सीप सिक्दै गएपछि अहिले आएर इनरुवा पुगेर अन्य महिलालाई पनि आत्मनिर्भर बनाउन सक्छु भन्ने आँट पलाएको छ ।’ उनले भनिन् ।
धरानकी लक्ष्मी सुवेदीले काम सजिलो कुनै पनि नहुने बताउँदै मिहिनेत गरेमा सफलता मिल्ने हुनाले मिहिनेतकै काम रोजेको बताइन् । ‘झन्झट नमानी मिहिनेतका साथ यस्तो सीप सिक्ने हो भने धेरै महिला आत्मनिर्भर बन्न सक्छन्’, लक्ष्मीले सुझाइन् । उनले आर्थिक स्थिति सुधार्नको लागि यस्तो सीप सहयोगी हुने बताइन् ।
नेपाल उद्यमशील महिला संघ, सुनसरी शाखाले धरानमा यस्तो तालिम सिकाएको अध्यक्ष यशोदा कायस्थले जानकारी दिइन् । उनले यसअघि चुरा बनाउने सीप सिकाएको र अहिले महिलालाई आत्मनिर्भर बनाउन ब्याग बनाउने तालिम दिइएको जानकारी दिइन् ।
थाकल ब्याग बनाउने सीप सिक्न सुनसरीभरीका १५ जना महिलाले सहभागिता जनाएका छन् । तालिम लिइसकेपछि आफ्नै घरमा बसेर पनि महिलाको लागि आर्थिक उपार्जन हुने उनले बताइन् । ‘खासमा तालिममा सिकेका सीपलाई घरमै बसेर पनि प्रयोग गर्ने हो भने पनि महिला आत्मनिर्भर बन्न सक्छन्, यसका लागि थोरै लगानी, सीप र मिहिनेत भने अवश्य चाहिन्छ ।’
स्थानीय बेरोजगार, अर्धबेरोजगार युवती एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका क्रियाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने गरेको उनले बताइन् । सीप सिकाउनका लागि प्रशिक्षककारुपमा दाङकी चन्द्रावती चौधरी समेत आइपुगेकी छिन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: चैत्र १९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend