धरानः धरान-११ मा युवाको आक्रमणबाट तीनजना घाइते भएका छन् ।
साविक नेकपा र एकीकृत नेकपा माओवादी (माओवादी केन्द्र) का सचिव सुदर्शन श्रेष्ठ र अन्य दुईजना कामदार घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते हुनेमा पचु उराव र आच्छेलाल उराव पनि छन् । उनीहरुमाथि बिहीबार साँझ आक्रमण भएको हो ।
धरान-११ मा बन्दै गरेको सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणस्थलमा आक्रमण भएको हो । शुरुमा तीन चार जना युवा आएर ‘भैया’ शब्द प्रयोग प्रयोग गर्दै जिस्क्याएपछि झगडा भएको र ती युवाले आक्रमण गर्न थालेको स्थानीयबासीले बताएका छन् ।सो भवन धरान-११ सिर्जना मार्गमा निर्माणाधीन अवस्थामा छ ।
झगडा परिरहेको ठाउँमा छुट्याउन पुगेका नेकपाका सचिव श्रेष्ठ घाइते भएका छन् भने अन्य कामदारमाथि पनि आक्रमण हुँदा उनीहरु समेत घाइते भएका छन् । मजदुरलाई छुट्याएर घर पुगेपछि ती युवाहरु श्रेष्ठकै घरमा आएर समेत निर्घात कुटपिट गरेर भागेको घाइते श्रेष्ठले बताए । ‘सामान्य विवादमै झगडा गरेको पाइयो’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने, ‘तीनजना घाइते समेत भएको पाइयो ।’
उनका अनुसार आक्रमणमा संलग्न दुईजनालाई नियन्त्रणमा लिइएको छ । ‘दुईजनालाई तत्कालै नियन्त्रणमा लिइसकेका छौं, अन्यलाई खोज्दैछौं ।’ उनले फोन सम्पर्कमा भने । पक्राउ पर्नेहरुमा सोही ठाउँका २६ वर्षीय प्रदीप तामाङ र २७ वर्षीय सुजन तामाङ रहेका छन् । फरार रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।