धरानः धरान उपमहानगरपालिकाले तेक्वान्दो खेलको विकासका लागि खेलकुद सामाग्री खेलाडीहरुलाई हस्तान्तरण गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर शनिबार एक लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।
तेक्वान्दो खेलको विकासका लागि उपमहानगरपालिकाले चेस्ट कभर लेदरको ४ थान, हेड कभर लेदरको ४ थान, गुलिङ कभर प्लाष्टिकको ४ थान, सिंग कभर साधारण ४ थान, हेण्ड कभर साधारण ४ थान, किक प्याड साधारण २९ थान, किक प्याड भिडियम ४ थान र किक प्याड (ठूलो) ४ थान हस्तान्तरण गरेको जनाइएको छ ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा सुनसरी तेक्वान्दो डोजाङ संघका अध्यक्ष कुमार गुरुङ, धरान तेक्वान्दो डोजाङ संघका संस्थापक नविनचन्द्र मादेन, धरान उपमहानगरका खेलकुद संयोजक सुवास राई, धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्की, धरान तेक्वान्दो डोजाङ प्रमुख गोपाल राई, भोटेपुल तेक्वान्दो डोजाङ प्रमुख मदन कुमार राई र फुस्रे तेक्वान्दो डोजाङ प्रमुख विवेक राईको उपस्थिति रहेको थियो ।
मेयर राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्नुपर्छ भन्ने उपमहानगरपालिकाले नीति बनाउन नसकेको बताए ।
खेलकुदको लागि नीति बनाउँदै धरान उपमहानगरपालिका
‘भोलि बैठक बस्दै छ, धरान उपमहानगरभित्र, धरान उपमहानगरपालिकाको सहयोग लिएर विभिन्न खेलकुद गतिविधिहरु हुने गरेको छ, त्यो खेल क्लबहरु, संघ संस्थाहरु र पदाधिकारीसहितको बैठक उपमहानगरपालिकाले राखेको छ,’ मेयर राईले भने ।
तेक्वान्दो खेलसँग सम्बन्धित प्रशिक्षकहरुलाई पनि भोली (आइतबार) दिउँसो २ बजे बैठकमा आउन उनले आग्रह गरे । धरान उपमहानगरपालिकाले निति बनाउन खोजिरहेको उनले बताए । उनले भने, ‘पैसा लग्यो, कार्यक्रम नगर्ने, गतिविधि नगर्ने, नाम मात्रको कार्यक्रम गर्ने ।’
नगर प्रमुख राईले अब संघ संस्था, क्लबहरुलाई उपमहानगरपालिकाले पैसा दिन नसक्ने बताए । ‘जुन क्लब, जुन संघ संस्थाहरुले धरानको गरिमा बढाउने गरि, धरानको इज्जत जोगाउने गरी, र त्यो खेलसँग सम्बन्धित खेलाडीहरुलाई प्रोमोट गर्ने गरी, उत्साह उमंग ल्याउने गरी, खेलाडी उत्पादन गर्ने, खेल प्रतियोगितालाई सही ढंगबाट जसले सञ्चालन गरेकोछ, त्यस्तो आयोजक, त्यस्तो संघ संस्थालाई मात्रै अब हामी पैसा दिने नीति निर्माण बनाउनका लागि भोलि बैठक बोलाएका हौं,’ उनले भने ।
बैठकमा समीक्षा गर्ने र त्यो समीक्षाको आधारमा आगामी बजेट बन्ने उनले बताए । उनले तेक्वान्दो खेलले थुप्रै मेडलहरु जितेको बताउँदै तेक्वान्दोले धरानलाई चिनाउन सफल भएको बताए ।