विराटनगरः विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ।
विराटनगरस्थित बलुवाईका ५२ वर्षीय विको सहनीको गएराति हत्या भएको हो । धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार सहनीमाथि धारिलो हतियार प्रहार भएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो । राति १० बजेतिर कोसी अस्पताल ल्याइएपछि चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । उनको घाँटीमा गहिरो चोट थियो ।
घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।
घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए । प्रहरीलाई राति नै पारिवारिक झगडा भइरहेको सूचना आएको थियो ।
जेठो र कान्छो छोरालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
उता लुटेरा समूहले गए राति नै सिरहाको लहानमासुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।
लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।