धरानः धरानमा पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ ।
हाल मासुको मूल्य बढेर प्रतिकेजी ३६० रुपैयाँसम्म पुगेको छ । धरानमा गएको भदौ २६ गते पशु सेवा महाशाखाका प्रमुख समेत बसेर मूल्य निर्धारण समितिले मासुको मूल्य प्रतिकेजी २८० रुपैयाँ कायम गरेको थियो ।
सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण कुखुराको मासुको मूल्य ओरालो लाग्दै गएको थियो भने सर्वसाधारणले मासुसमेत किनेर खान पाएका थिएनन् । लकडाउनको समयमा कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको थियो । गत वर्षको भदौ महिनामा कुखुराको मासुभन्दा अन्य सागसब्जीको मूल्य बढी रहेको थियो ।
चिसो समयमा कुखुराको उत्पादन कम र विभिन्न रोगको कारणले चल्लामा नै कुखुरा मर्दा अहिले मासुको मूल्य आकाशिएको व्यवसायी बताउँछन् । गर्मीको समय आएपनि यसवर्ष चाँडो कुखुराको मासुको मूल्य नघट्ने व्यवसायी बताउँछन् ।