धरानः बुधबार साँझसम्ममा धेरैको फेसबुकमा पोष्ट्याइएको पाइयो– नयाँ वर्षसँगै घुमफिर भन्ने शब्दसँगको तस्वीर । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेको छ ।
धेरैदिन घरमा बस्दा वा काममा व्यस्त रहँदा दिक्क लाग्ने र मुड फ्रेस पार्नकै लागि भएपनि नयाँ वर्षले नयाँ मुहार फेर्ने हुनाले आफू घुम्न निस्किएको धरान–१० की रमिला लिम्बूले बताइन् । ‘खासमा भन्ने हो भने काम गर अनि घर पुगजस्तो मात्रै भइरहेको थियो’, उनले भनिन्, ‘तर घुम्दाफिर्दा मुड फ्रेस हुन्छ भनेरै निस्किएको हुँ, अझ भन्ने हो भने नयाँ वर्ष मुड फ्रेसको लागि बहाना पनि बन्यो ।’
धरानका अध्यापक गोपीकृष्ण खतिवडाले फेसबुकमा पोष्ट्याए–आज आदरणीय सर प्रदीप भण्डारी (सभामुख, प्रदेश नम्बर १)का साथमा धरानका धार्मिक, सांस्कृतिक स्थलहरुको भ्रमणसहित सामयिक राजनीतिक सन्दर्भ, प्रदेश सभाका गतिविधिलगायत अन्य महत्वपूर्ण विषयमाथि विचार विमर्श गर्ने अवसरको उपयोग गर्दै नयाँ वर्षको दैनिकी आरम्भ गरियो । उनले धार्मिकस्थल धरानको पिण्डेश्वरको फोटो पोष्टयाएका थिए । उनले परिवारसँगै घुम्न निस्किएको जानकारी गराए ।
विशेषतः नयाँ वर्षसँगै नेपालीहरूमा नयाँ जोश, जाँगर र उमङ्गमा हुन्छन् । एकआपसमा रमाइलो गर्दै शुभकामना आदानप्रदान गर्छन् । यही मौकामा नजिकका रमाइला ठाउँहरू घुम्न जानेहरू पनि धेरै हुन्छन् ।
धरानमा घुमघाममा निस्कनेहरुले आफ्नो बसाईबाट छोटो दुरीका गन्तव्य रोजेका छन् । धरानका सबैजसो पर्यटकीय गन्तव्यमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पुगेका छन् । अघिल्लो वर्षको नयाँ वर्षमा पुरै लकडाउन खेपेका धरानेले यस वर्ष निष्फिक्री घुमे ।
धरानस्थित सामुदायिक वनले सञ्चालन गरेको पार्क (हरियालीलगायत), धरानको विजयपुरको धार्मिक पर्यटकीय क्षेत्र (पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, पञ्चकन्या) मा पनि नजिकैको गन्तव्य भन्दै स्थानीय पर्यटक भरिभराउ थिए । बिहानै पूजाआजा गर्ने र दिउँसो घुम्न स्थानीयबासी त्यहाँ पुगेका थिए ।
‘घरमा बस्दा बस्दा वाक्क भइयो, जौ मुड फ्रेस पार्न भनेर परिवारसँग सल्लाह भएर निस्कियौं र हरियाली सामुदायिक वन पुगेर फोटो खिचेर रमाइलो मान्दै फर्कियौं ।’ धरान–१६ की रुपा थापा (दाहाल) ले भनिन् । धरानका केशव न्यौपानेले पारिवारिक घुमफिरसँगै बराहक्षेत्र मन्दिरमा पूजाआजाको लागि पुगेको जानकारी दिए ।
हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार राईले अन्य समयमा पनि भीडभाड हुने पार्कमा नयाँ वर्षमा थप भरिभराउ बनेको बताए । ‘नयाँ वर्षमा भीड नै लाग्यो’, उनले भने, ‘नयाँ वर्षमा परिवारसहित घुम्न आउने बढी थिए ।’
नयाँ वर्ष मनाउन निस्कनेहरुको भीडले धरानकै चिन्डेडाँडा, धरान–१३ को बीपी पार्क भरिभराउन थियो । सीमित समयका लागि पाहुना आउँदा पनि व्यवसायी व्यस्त भएका छन् । होटल–रिसोर्ट र रेस्टुरेन्टका सेवा सुधारिएका छन् ।
धरानका बगरकोटलगायतका स्थानमा पनि स्थानीयबासी घुम्न भन्दै पुगेका थिए । यस्तै, रेष्टुरेण्ट, होटल, रिसोर्ट पनि भरिभराउजस्तै बनेको व्यवसायीले बताएका छन् ।
यस्तै, नयाँ वर्षको आरम्भसँगै धरान–धनकुटाको बीचमा पर्ने भेडेटारमा पनि आन्तरिक पर्यटक थपिएको होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । ‘खासमा भन्ने हो भने यसअघि पनि पर्यटक आएकै थिए तर नयाँ वर्षमा अझ बढी स्थानीय पर्यटक थपिए ।’
यस्तै, धरान आसपासका गन्तव्य रास ताल, चतराको कोशी नदीको पुल, इटहरीको तालतलैया क्षेत्रमा पनि नयाँ वर्ष मनाउन स्थानीय पुगेका थिए । रास ताल पुगेकी धरान–११ की शिव बान्तवा राईले भनिन्, ‘परिवारका अधिकांश सदस्य पुगेका थियौं, अझ भन्ने हो भने रासतालको जलयात्राले साह्रै रमाइलो भयो, अझ महत्वपूर्ण कुरा त मान्छे कति हो कति, देखेर म त छक्कै परें ।’ उनले नयाँ वर्षसँगै नयाँ जोश, जाँगर र उत्साह लिएर फर्किएको बताइन् ।
तस्वीरः हाम्रो कोशी आवाज र फेसबुक



























