Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरले फुटबल सिकाउँदै

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
धरान उपमहानगरले फुटबल सिकाउँदै

धरानः धरान-२० विष्णुपादुकाकी बिजेता राई हरेक शनिबार बिहान ४ बजे उठ्छिन् । दाँत ब्रस गर्छिन् अनि मुख धुन्छिन् ।
धरानको ग्रामीण क्षेत्रकी उनी घरमा मकै-भटमास र चिया खान्छिन् । बिहान ६ बजे उनी गाउँका ४-५ जना साथीहरुसँग धरान-१६ स्थित रंगशालामा आइपुग्छिन्-फुटबल सिक्न । ११ वर्षीया बिजेता फुटबल भनेपछि हुरुक्कै हुन्छिन् । नेपाली फुटबल खेलाडीहरुको नाम भने उनलाई थाहा छैन । उनलाई मनपर्ने खेलाडी मेस्सी हुन् । ‘मलाई सबैभन्दा मनपर्ने खेल नै फुटबल हो,’ उनले थपिन्, ‘सबैभन्दा मनपर्ने फुटबल खेलाडी मेस्सी हुन्, उनकै खेल हेरेर यसप्रति मोह जागेको हो ।’
हरेक शनिबार करिब डेढ घण्टाको बाटो हिँडेर ग्रासरुट फुटबल ट्रेनिङ सिक्न आइपुग्ने बिजेता ९ बजे फर्किन्छिन् । उनको लक्ष्य छ–देशको एक कुशल फुटबल खेलाडी बन्ने ।
उनीजस्तै धरान-१७ पटनालीकी ११ वर्षीया प्रतिमा घिमिरेको पनि फुटबल खेलाडी बन्ने लक्ष्य छ । प्रतिमा पनि हरेक शनिबार बिहान ६ बजे फुटबल खेल्न रंगशाला आइपुग्छिन् ।
यस्तै, धरान-१६ की लिशा राना मगरलाई पनि फुटबलप्रतिको मोह जागेको छ । ११ वर्षीया लिशा हरेक शनिबार बिहान ६ बजे रंगशाला पुग्छिन् ।

लिशाले घरमा पनि एक्लै फुटबल खेल्ने गरेको र अहिले यहाँ तालिम लिन आइपुगेको बताइन् । यस्तै, धरान-३ स्थित पुरानो बजारका आशिष ताम्राकारको पनि फुटबल मोह उस्तै छ । अहिले उनको उमेर १० वर्षको मात्रै छ । उनीपनि बिहान आफ्नै टोलका दौतरीहरुसँग ६ बजे रंगशाला आइपुग्छन् ।
आषिश राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगर जस्तै बन्न चाहन्छन् । ‘मनपर्ने खेलाडी विमल घर्ती मगर हो । त्यसैले भविष्यमा उनीजस्तै खेलाडी बन्ने लक्ष्य छ’, उनले थपे, ‘ग्रासरुट फुटबल ट्रेनिङमा आएपछि फुटबल सम्बन्धी धेरै नै ज्ञान पाएँ ।’
धरान उपमहानगरपालिकाको आयोजनामा गत फागुन दोस्रो साताबाट १२ वर्ष मुनिका बालबालिकालाई हरेक शनिबार धरान–१६ स्थित रंगशालामा ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन भइरहेको छ ।
उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार धरान उपमहानगरभरिका करिब ३ सयजना बालबालिकाले प्रशिक्षण लिइरहेका छन् । अभिभावकहरुबाट पनि राम्रो प्रतिक्रिया आइरहेको उनले बताए । ग्रासरुट फुटबल ट्रेनिङले बालबालिकामा खेल प्रतिको उर्जा थपिएको उनले बताए । सो ट्रेनिङ असार महिनासम्म चल्नेछ ।
धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरान खेलकुदको शहर रहेको बताउँदै खेलकुदको विकास तथा प्रवद्र्धन गर्नका लागि बालबालिकाको लागि ग्रासरुट फुटबल ट्रेनिङ उपमहानगरपालिकाले आयोजना गरेको बताए ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend