Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानी खुवाउन मुहान चहार्दै मेयर

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
धरानमा पानी खुवाउन मुहान चहार्दै मेयर

धरानः धरानमा खानेपानीमा सहजता प्रदान गर्न तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ ।
खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान मर्मत गर्न लागिएको हो । मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
खर्दुमा पहिरोका कारण खानेपानीको पाइप नै बगाएर लाने अवस्थामा रहेको छ । यसअघिको वर्षायामको भलबाढीले त्यहाँको पाइप बगाउने स्थितिमा पुगेको हो । अहिले त्यहाँ रुखमा झुन्ड्याएर पाइप ल्याइएको छ । अबको वर्षायामअघि नै मर्मत नगरिएको धरान–१४ बासीले पानी नै खान नपाउने अवस्था छ ।
‘खर्दुमा पहिरो र वर्षाको भेलबाढीले खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति छ, त्यसलाई चाहिँ वाल बनाएर पहिरो पनि रोक्छौं र पाइप पनि जमीनमै बिछ्याउँछौं,’ मेयर तिलक राईले भने । उनले सर्दुको मुहान लामपाते झरनानजिकै च्याम्बर निर्माण गरिने बताए । ‘लामपाते झरना छ, त्यहाँ एउटा च्याम्बर बनाएर, पाइप राखेर तल इन्टेकसम्म लिएर आउँछौ, बीचबीचमा ग्याविनहरुको काम पनि गर्छौ, त्यो भएपछि पानीको उत्पादन बढ्छ ।’ उनले भने ।
धरान खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले धरानको मुख्य खानेपानीको स्रोत सर्दु र खर्दु भएको बताउँदै सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि लागिपर्ने बताए । ‘खर्दुमा गर्नुपर्ने काम स्लोप प्रोटेक्सन वर्कस छ, त्यसलाई चाहिँ अब सूचना निकालेर आरसिसी वाल लगाउँछौ, खर्दुको पानी चाहिँ आँपगाछी हुँदै आउँछ,’ उनले भने, ‘हामीले केही प्रोटेक्सन वर्कहरु गर्नुपर्नेछ, अलिकति च्याम्बर बनाउनुपर्नेछ, त्यो बनाइयो भने बर्खाको बेलामा पनि पानी ल्याएर सहज तरिकाले चलाउन सक्छौ ।’
मेयर राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्नका लागि निरीक्षण गरिएको थियो । उनका अनुसार शनिबार र आइतबार निरीक्षण गरिएको हो ।

सर्दु र खर्दुमा प्रवेशमा रोक
धरान–१३ स्थित बीपी पार्कदेखि माथि जलाधार क्षेत्र रहेको छ । स्थानमा खानेपानीको मुहान छ । इञ्जिनियर अधिकारीले खानेपानीको मुहान अति संवेदनशील भएको कारण मानिसहरुको चहलपहल बढेको हुनाले सो क्षेत्रमा जान रोक लगाउने बताए । ‘त्यहाँ पनि मानिसहरुको चहलपहल बढेको हुनाले बन्द गर्छौ ।’ उनले भने ।
यस्तै, खर्दुको मुहान आसपास क्षेत्रमा अनावश्यक मानिसहरु प्रवेश गर्ने भएका कारण फोहोर हुने गरेको उनले बताए । उनले त्यहाँ पनि प्रवेशमा रोक लगाइने बताए ।
सर्दुको फोहोर व्यवस्थापन तथा मर्मत कार्य एक महिनाभित्रमा सकिने उनले जानकारी दिए । खर्दुको विषयमा सूचना निकालेर टेण्डर प्रक्रिया अगाडि बढाउने बताउँदै इञ्जिनियर अधिकारीले सकेसम्म काम चाँडै सुचारु गर्ने बताए ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend