धरानः प्रदेश १ मा दिनहुँजसो दुर्घटना हुन थालेको छ ।
यसैबीच मङ्गलबार मेचीनगर नगरपालिका १३ चारआली चौकस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट मोटरसाइकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ वर्षीय प्रवेश बयलकोटी घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुरयाउन साथ मृत्यु भएको थियो भने सोही मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बू समेत सामान्य घाइते भई मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ वर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यात्रुको चापका कारण छिटो घर जाने हतारो र अर्को चालकले कमाउने अवसर छोप्न खोज्दा दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै मापसे जाँच, सवारी नियम उल्लंघनविरुद्ध ट्राफिक प्रहरीले कारवाही अभियान चलाउँदै दैनिक कक्षा लिने गरे पनि तथ्याङ्कमा भने दुर्घटना न्यूनीकरण हुन सकेको देखिँदैन ।
नेपाल प्रहरीको अभिलेखमा सवारी दुर्घटनाका कारण प्रदेश १ मा दिनहुँजसो एकजनाको मृत्यु हुने गरेको छ भने ५ जनाभन्दा बढी घाइते समेत हुने गरेका छन् । दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरवाही, ओभरटेक, धेरै यात्रु राख्ने प्रवृत्ति, यान्त्रिक गडबडी, मापसे, चालकले बढी समय गाडी चलाउनु, र तीव्र गति आदि रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
‘कमसेकम चालक, यातायात व्यवसायी र यात्रुले सवारी नियम पालना गरेमात्रै पनि धेरै दुर्घटना आफैं रोकिन्छ’, उनी दावी गर्छन् ।
२०७७ मा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ ।