धरानः धरानमा बुधबार उपभोक्ताले पेट्रोल पाएका छन् ।
मङ्गलबार अधिकांश उपभोक्ता अधिकांश पेट्रोल पम्पसम्म भौतारिन बाध्य बनेका थिए । अधिकांश पेट्रोल पम्पमा चिहाउँदै उपभोक्ता फर्किन बाध्य थिए । तर धरानमा बुधबार पेट्रोल आएपछि मोटरसाइकल, टेम्पोलगायतको लाइन लागेको थियो ।
उपभोक्ताले महङ्गाको पेट्रोल लिन पनि सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् । ‘खासमा भन्ने हो भने अत्यावश्यक वस्तुमै पर्ने पेट्रोल अभाव हुनु दुःखद् हो, त्यही पनि बढेको पेट्रोल थाप्न पनि लाइन लाग्नुपर्ने यो धरानबासीका लागि सास्ती नै हो’, धरान-८ की उपभोक्ता सिरु लिम्बूले भनिन् ।
बुधबार धरानका सबै पेट्रोलपम्पमा लाइन देखियो । पेट्रोल आइहाले वा वितरण भइहाले पनि पम्पहरूमा केहीदिनदेखि उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ ।
कतिपय उपभोक्ताले लाइनमा बस्दासमेत पेट्रोल सहजरुपमा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
धरानमा पेट्रोल नपाउने त्रासमा इन्धन जोहो गर्न तछाडमछाड गर्दै लाइनमा बस्ने र नाकाबन्दीकै बेला जस्तो सवारी साधन मात्र होइन, जर्किन, ग्यालेन र बोटल लिएर उपभोक्ताहरु पेट्रोलपम्पमा कुरिरहेको समेत देखिने गरेको छ ।
व्यवसायीले भने दुई दिन सरकारी विदा परेकोले पेट्रोल आउन नसकेको बताउँदै आएका छन् भने टेम्पो व्यवसायीले पम्पबाहिर ‘ब्ल्याक’मा तेल पाउने गरेको बताउँदै आएका छन् । ‘यतिका दिन मैले ब्ल्याकमा पनि किनेर तेल हालें’, धरानका एक टेम्पो व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन्, ‘तेल सहजरुपमा पाइँदैन, तेल नपाउँदा जहिल्यै मारमा पर्ने त हामी सर्वसाधारण नै हौं ।’ केहीदिनअघि मात्रै पेट्रोलको भाउ बढेर ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज


