विराटनगरः भारत लैजाने तयारी गरिरहेको अवस्थामा विराटनगरकी एक युवतीलाई मोरङ प्रहरीले उद्धार गरेको छ ।
विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको अवस्थामा कञ्चनपुरबाट सकुशल उद्धार गरेर मंगलबार साँझ विराटनगर ल्याएको प्रहरीले जनाएको छ ।
भारत लैजान खाज्ने विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डललाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती युवतीलाई अपहरणशैलीमा भारत लैजाने तयारी गरिँदै थियो ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सुन लगायतका बहुमूल्य धातुको लोभ देखाउँदै अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेको र युवतीलाई उद्दार गरेर विराटनगर ल्याएको बताए ।
घरबाट हिँडेकी छोरी र उनलाई लिएर गएका मण्डल नफर्किएपछि आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले मण्डल र युवतीको खोजी थालेको थियो । लामो समयको अध्ययन एवं अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । प्रहरीले मण्डललाई पनि पक्राउ गरेर हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ । ‘तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई कञ्चनपुर हुँदै भारत पुरयाउन खोजिएको देखिएको छ, अहिले हामी युवती र ती युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’, उनले भने ।