Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भरुवा बन्दुक लागेर दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १० २०७८, शुक्रबार
भरुवा बन्दुक लागेर दुईजनाको मृत्यु

धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एकजनाको मृत्यु भएको छ ।
बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन ।

मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्कीएर मृत्यु भएको छ ।
वन्यजन्तुको सिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैले बोकेको भरुवा बन्दुक अचानक पड्कीएर छर्राले लाग्दा ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
साथीहरु गजेन्द्र राई र रुविन लिम्बूसँग उनी बुधबार राति सिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा पुगेका थिए । सो जंगलमा मृग, बँदेललगायतका जंगली जनावर रहेका छन् । जंगली जनावरको सिकार खेल्ने क्रममा बन्दुक पड्कीएर घटनास्थलमै सिकारीको मृत्यु भएपनि प्रहरीले भने घटनाका बारेमा बिहीबार बिहानमात्रै जानकारी पाएको थियो । गजेन्द्र र रुविन आफैले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई भनेका थिए । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

प्रकाशित मिति: बैशाख १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend