
विराटनगरः प्रदेश १ सरकारले नेपाली घरेलु मदिराको ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका विषयमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ सदस्य रहेका छन् ।
कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री राईले कोदोको लोकल रक्सीलाई ब्रान्ड बनाउन लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताउँदै आएकी थिइन् । ‘हाम्रो गाउँघरमा उत्पादित रक्सीलाई प्रतिबन्ध होइन ब्रान्डिङ गरौं । हामी अभियानमा छौं’, उनले भनिन्, ‘कोदोको अर्गानिक लोकल रक्सी हाम्रो पहिचान हो । विदेशी रक्सी ल्याएर चियर्स गर्न बन्द गरौं, हामीले लोकल रक्सीको प्याटेन्ट राइट लिनुपर्छ । कोदोको अर्गानिक रक्सीलाई ब्रान्ड बनाउनुपर्छ ।’
उनले ब्रान्ड बनाउँदा एकै हुनुपर्ने बताउँदै बोटलिङ र प्याकिङ सातै प्रदेशमा एकै प्रकारको बनाउनुपर्ने बताइन् ।