Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषध किन्न टेलिकमको तार चोरी

हाम्रो कोशी आवाज
बैशाख १४ २०७८, मंगलबार
लागूऔषध किन्न टेलिकमको तार चोरी

बिर्तामोडः मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुईजना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन्। आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काकडभिट्टाको हिरासतमा राखिएको छ । तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरू व्यक्तिहरूको खोजी कार्य तीब्र पारिएको दाहालले बताए ।
शनिबार राति काँकरभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काकडभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताए । गत माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुलतार चोरीका घटना भइरहेका छन् ।
तार चोरी भएसँगै त्यसक्षेत्रका १५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्व हुँदा उपभोक्ताहरू आक्रोशित भएका छन् । ‘न टेलिफोन चल्छ, न इन्टरनेट नै’, मेचीनगर–६ का पूर्णबहादुर राईले भने, ’ आफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौं, केटाकेटीहरूले अनलाइनमा पढ्न पनि पाएका छैनन् ।’ तार चोरी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कारवाही गर्न र टेलिकमले सेवा चाँडो चालु गर्न राईले माग गरे । इमेलमा आएका महत्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाइएको सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताए ।
हाल पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगी बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको छ । कुलतमा फँसेका युवाहरू तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको छ । रासस

प्रकाशित मिति: बैशाख १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend