बिर्तामोडः चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो ।
किशोरीलाई आइतबार काकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । ती किशोरीलाई कोलकत्ताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए ।
उद्धार गरी ल्याइएकी किशोरीलाई केहीदिन सेवा विस्तार मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जिम्मा लगाइने योजना बनाइएको उनले पत्रकार सम्मेलनमा बताए । किशोरीको स्थायी घर नुवाकोट हो । उनी गाउँबाट चार वर्ष अघि हराएकी थिइन् । १२ वर्षको उमेर हुँदा उनलाई कसैले घरायसी कामकाजका लागि भन्दै भारतको कोलकत्तामा लगेको खुलेको छ ।
एक वर्षअघि कोलकातास्थित महावाणिज्य दूतावासमा वेश्यालयमा एक नेपाली किशोरी बेचिएको खबर पुगेपछि उनको उद्धार थालिएको सचिव सतिश थापाले बताए । किशोरीलाई सुरुमा घरायसी कामका लागि लगिएको र पछि उमेर बढ्दै गएपछि वेश्यालयमा लगेर बेचिएको खुलेको छ ।