
धरानः धरानमा उफ गर्मी भन्ने बेला भइसकेको छ । भनौं अहिले गर्मी चढिसकेको छ । एकातिर तातो घाम, अर्कोतिर आगोको राप । मकै बेच्न तम्सिरहेकी छिन् एक महिला । उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छिन् ।
धरान-१२ छाताचोक तल्तिर (दक्षिण) मकै पोलेर बेच्दै आएकी धरान-३ की मैया कठायतलाई कहिल्यै सुखका दिन आएनन् । उनले अघिल्लो वर्ष (२०७६ चैत अगाडि) को लकडाउनअगाडि पनि मकै पोलेर बेचिरहँदा उनको पीडा छाप्न पाइएन । उनको पीडा समेटिएको समाचार छाप्न नपाई लकडाउन भयो ।
लकडाउनपछि उनको हातमुख जोर्ने मेलो नै हरायो रे । ‘अघिल्लो वर्ष मकै बेच्दाबेच्दै लकडाउन भयो, अहिले पनि मकै बेच्दाबेच्दै लकडाउन हुन्छ रे भन्ने हल्ला सुन्दैछु, हल्लाहल्लैमा पनि बन्द हुन के बेर ?’ उनले भनिन्, ‘त्यसो भयो भने के ले भरिन्छ पेट ?’
मकैको घोगा अरुलाई चपाउन दिएरै उनको पेट भरिने गरेको र परिवारलाई पनि राहत हुँदै आएको उनले बताइन् । ‘दिनमा ७०-८० घोगा मकै पोलेर बेच्ने गरेको छु, अरूलाई मकै चपाउन दिएर आफ्नो पेट पाल्न सजिलो भएको छ’, उनले भनिन्, ‘तर लकडाउन भए खै ?’
उनले अघिल्लो वर्ष मकै पोलेर बेच्न नपाउँदा ऋण परेको र अहिलेसम्म पनि चुक्ता गरिनसकेको सुनाइन् । ‘खासमा अघिल्लो वर्षको ऋण नै अहिलेसम्म तिर्न सकेको छैन’, उनी भन्छिन्, ‘अब फेरि लकडाउन भए ऋण पर्ला जस्तो छ ।’
उनले छाताचोकमा मकै बेच्न थालेको पनि ५-७ वर्ष भइसक्यो । ‘मकै बेचेर बचेको वार्षिक ७०-८० रुपैयाँ अघिल्लो वर्ष पनि गुम्यो, यस वर्ष पनि गुम्ला कि भन्ने डर छँदैछ ।’ उनले भनिन् ।
मोरङका भाउन्ने, लालभित्ती, लक्ष्मीमार्ग, कानेपोखरी, विराटचोक, सलकपुरलगायतका स्थानसम्म पुगेर धरान ल्याएर माघदेखि असार अन्त्यसम्म उनले मकै बेच्ने गरेको उनले बताइन् । ‘यो पनि सिजनकै व्यवसाय हो, सिजनभर कमायो, खायो अनि अलि अलि बचत गरयो तर यस वर्ष पनि लकडाउन भए कसरी, के गरेर खाने भन्ने चिन्ता थोपरिएको छ ।
‘अघिल्लो वर्षको राहतमा चित्त बुझेको छैन’
उनको धरान–३ मा सानो झुप्रो घर छ । उनलाई अघिल्लो वर्ष लकडाउनको बेला वितरण गरिएको राहतमा चित्त बुझेको छैन । भन्छिन्, ‘अघिल्लो वर्ष हामीजस्ताले राहत पाएनौं, एकपटक मात्रै १० किलो चामल ल्याएर दिएका थिए, त्यसपछि हामीले पाएनौं, पहुँच पुग्ने, चिनेजानेका आफन्तलाई वितरण गरेछन् ।’
उनले धनीमानीले राहतका चामलले खुदी बनाएको, गाईवस्तुसम्मलाई खुवाएको आरोप समेत लगाइन् । ‘हामीजस्ता गरिबका पेट सुकिरहे, मैले देखें पनि राहतको चामलले खुदी, खोले बनाएको समेत पाइयो, यो त भएन नि ।’ उनले आक्रोश पोखिन् ।
उनले मकै बेचेर छोराछोरी पढाउने काम गर्दै आएकी छिन् । श्रीमान बसका कर्मचारी हुन् । उनले ल्याएको रकमले घरखर्चबाहेक अन्य केही नचल्ने हुनाले आफू मकै बेच्न लागिपरेको बताइन् । ‘मेरो सहारा भनेको त्यही छोराछोरी हुन्, दुःखसुख गरेर छोराछोरीले पढे, उनीहरुले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथे तर भने जस्तो काम पाइँदैन’, उनले भनिन्, ‘छोराछोरीकै भविष्यका लागि पनि मकै पोलेर बेचिरहेकको छु, लकडाउन भए सार्वजनिक सवारी पनि नचल्ने भन्ने सुन्दैछु, श्रीमानको पनि रोजगार गुमेपछि के गरेर खाने ? गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।’
तस्वीरः हाम्रो कोशी आवाज



