Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिप्पणीः खासमा निषेधाज्ञा आवश्यक छैन

हाम्रो कोशी आवाज
बैशाख १६ २०७८, बिहिबार
टिप्पणीः खासमा निषेधाज्ञा आवश्यक छैन

धरानः धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएको छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् ।
अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७६ चैत ११ गतेदेखि कहालीलाग्दोरुपमा लामो लकडाउन (बन्दाबन्दी) गरिएको एक वर्षपछि पुनः लकडाउनको हल्ला चल्यो । तर यतिसम्म निर्णय समेत भइसकेको छ- कतै सातादिन, कतै १५ दिने निषेधाज्ञा । यसका लागि जनता आफैं सचेत बन्नुको विकल्प छैन ।
कोरोना संक्रमण बढ्दो गतिमा रहेपनि, अर्थतन्त्र जीवित पार्नकै निमित्त लकडाउनलाई नयाँ स्वरूप दिएर परिमार्जन गरिएको मात्रै हो । लकडाउन निकै गहुङ्गो साथै महङ्गो भएको सबैले महसुस गरेकै हुन् । नेपाल राष्ट्र बैङ्क भन्छ- कोरोनाले एक चौथाइले रोजगारी गुमाए, उद्योग, ३५ प्रतिशत मात्रै उद्योग–व्यवसाय आंशिकरूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत पूर्णरूपमा बन्द भए । शिक्षा, होटल तथा रेस्टुराँ, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर नै असर गरेकै हो ।
लकडाउनले हामी सबैलाई सास्ती दियो । लकडाउनले मानसिक रोगी बढी जन्मायो, धेरैले आत्महत्या पनि गरे । खासमा नढाँटी भन्नुपर्दा भारतमा कोरोनाको संक्रमण दर र मृत्युदर बढिरहेको हो । नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्नुका साथै यहाँ पनि संक्रमित थपिएका हुन् । तर थोरैमा मात्रै संक्रमण थपिरहँदा हामी किन सचेत नबन्ने ?

अघिल्लो वर्ष यो महामारी शुरु हुँदा हामी सबै अनभिज्ञ झैं थियौं, मास्क लगाउन पनि अनकनाउँथ्यौं, यसो गर्दा बच्छौं, उसो गर्दा बच्छौं भन्ने विधि अहिले सबैलाई थाहा छ । सरकारले पनि कतिबेला लकडाउन गर्ने हो र लकडाउन हुँदा के भयो भन्नेबारेमा निष्कर्ष निकाल्दै आर्थिक अवस्थामा पनि गुज्रिएकै हो ।
अब कोरोना संक्रमणको रोकथामका निमित्त लकडाउनको विकल्पबारे पनि सोंचौं । लकडाउन मात्र कोरोनाको उपचार होइन भन्ने यथार्थ बुझौं । अब यस्तो नहोस् भनेर बेलैमा सरकार र नेपाली जनताले होस पुरयाउनु जरुरी छ ।
कोरोना नियन्त्रणका निमित्त सरकार र जनता दुवैको सहकार्य महत्वपूर्ण भूमिका रहन्छ । लकडाउनभन्दा प्रभावकारी जनचेतना नै हो । जनचेतना उच्च भएको खण्डमा लकडाउन पूर्ण खोल्दा पनि संक्रमण यो गतिमा बढ्दैन । तर जनता सचेत भइदिएनन्, जनता प्रोटोगल पालना गरेनन् भने संक्रमण रोकथाम सम्भव छैन ।
कोरोनाबाट नागरिकलाई जोगाउन नेपाल सरकार लागेकै हो र लागेकै छ । यो रोगबाट बच्न जनता पनि अनुभवी भइसकेका छन् । कसरी हात धुने, कसरी मास्क लगाउने, के खाने, के नखाने, घर बाहिर भिडभाडमा नजाने र भौतिक दूरी बनाएर बस्ने मात्र नभई यो रोगबाट बच्न आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपर्छ भन्नेबारे ज्ञान प्राप्त भएको छ । यसअनुसार जनता अघि बढ्न आवश्यक भइसकेको छ ।
यो रोगबाट बच्न सरकार र जनताको संयुक्त प्रयास आवश्यक हुन्छ । एक्लै संक्रमण नियन्त्रण सम्भव छैन भन्ने बुझे पुग्छ । गत वर्ष पनि सरकार र जनताको संयुक्त प्रयासबाट यसको नियन्त्रण सम्भव भएको हो ।

नेपालमा अहिलेसम्मको अवस्थामा कोभिड १९ बाट आत्तिइहाल्नुपर्ने अवस्था छैन । धरानको मामिलामा हेर्ने हो भने थोरै मात्रै संक्रमित भएका पक्कै हो । केवल सरकार र जनताको सचेतना आवश्यक छ । यसका लागि सरकारले गर्दैआएका प्रयास सकारात्मक छन् । सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्ने, कोभिडको लक्षण देखिएकालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने, ठूला भेला गर्न नदिने र गत वर्षको अनुभवको आधारमा सबैलाई अनिवार्य मास्क लगाउनेसमेतका स्वास्थ्य मापदण्ड पालना गर्ने, गराउने मात्र गरेमा अहिलेको अवस्था सजिलै नियन्त्रण हुनसक्छ । खोपले पनि यसलाई नियन्त्रण गर्न सहयोग गर्छ नै ।
गृह मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै निषेधाज्ञा अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गरी कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । यस्तै, सुनसरीमा पनि निषेधाज्ञा शुरु भइसकेको छ । यो मात्रै समाधान होइन भन्ने सबैले बुझिदिए पुग्छ ।
तर जति नै कडा रूपमा प्रस्तुत भएतापनि यदि जनता सचेत छैनन् भने संक्रमण रोकथाम सम्भव छैन । हिजो पूर्ण लकडाउन रहेकै समयमा जसरी लुकीछिपी मान्छे एक ठाउँबाट अर्को ठाउँ पुगे, संक्रमण त्यहींबाट फैलन सुरु भएको थियो । यो कुरा सबैले बुझौं ।
धेरै देश कोरोना संक्रमणमुक्त भयो भन्दा हामी कहिल्यै मुक्त हुन सकेनौं । देशव्यापी निषेधाज्ञा नभई अहिले ठाउँअनुसार निषेधाज्ञा जारी गरिएको छ । यसले पहिलाको जस्तै लकडाउन अर्थातर निषेधाज्ञा हुँदैन भन्ने बुझे हुन्छ । एकजनाबाट फैलिएको यो महामारी जोसुकैलाई लाग्न सक्छ भन्नेमा कसैले हेलचेक्रयाइँ गर्नु हुँदैन । लकडाउन कोरोना संक्रमणको विकल्प पनि होइन ।

सामाजिक दूरी, मास्क र स्यानिटाइजर भनाइमा मात्र सीमित हुँदै गएको देखिन्छ । फलानो मेरो साथी हो, उसलाई कोरोना लागेको हुँदैन भन्ने सोच हाबी भइरहेकाले जोखिम बढ्दै गएको देखिन्छ । मास्क नलगाउने, सामाजिक दूरीको नियम पालना नगर्नेहरूलाई कारबाही गर्न सके निषेधाज्ञा आवश्यक थिएन । निषेधाज्ञा एउटा माध्यम मात्र हो, यसलाई प्रयोग गरेर परीक्षणको दायरा फराकिलो बनाउन, क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्न, भेन्टिलेटरको व्यवस्थापन गर्न केन्द्रीकृत हुनुपर्छ । यस्तै, खोपलाई पनि व्यवस्थित गर्दै चाँडो खोपको व्यवस्था गर्दै जानु आजको आवश्यकता हो ।
बन्दाबन्दी लागू गरेर भाइरसको विस्तारलाई सुस्त पार्न त सकिन्छ, तर यसले आर्थिक र सामाजिक दुष्प्रभाव पनि सिर्जना गर्छ । बन्दाबन्दीले रोगको विस्तारलाई सुस्त त बनाउँछ, तर साथै यसले मानिसलाई आर्थिक र सामाजिक पीडा पनि दिन्छ भन्ने कुरा सबैले हेक्का राखौं । अझ भन्ने हो भने निषेधाज्ञाले कालोबजारी, महंगी बढ्छ, भोकमरी बढ्छ ।

प्रकाशित मिति: बैशाख १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend