धरानः सरकारले भारतसँग सीमाना जोडिएका नेपालका २२ नाका बन्द गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वैठकले नेपाल भारतका ३५ मध्ये २२ वटा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भारतसँगका २२ वटा सिमानाका बन्द गर्न सिफारिस गरेको छ ।
समितिको सिफारिस अनुसार काकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालन गर्न सिफारिस गरेको जनाइएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् ।
यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुरु गर्ने भए कामदार, कर्मचारीलाई निमार्णस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।
उता झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै वैशाख २६ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन् ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय पनि बन्द हुने भएका छन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै रोकथामका लागि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले एक साताका लागि जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्र चल्न पाउने निर्णय गरेको हो ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, बैंक, वित्तीय संस्था, फोहोरमैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवामा चाहिँ जोर–विजोर लागू नहुने भनिएको छ । कसैले मापदण्डको उल्लंघन गरे संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही हुने भनिएको छ ।