धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राई अनुगमनमा निस्किएका छन् ।
दक्षिणको सीमाना सर्दुखोला छेऊले छुटयाउने सीमाना अतिक्रमण भएको पाइएकोले अनुगमन गरिएको उनले जानकारी दिए । ‘बराहक्षेत्रको सीमाना सर्दुखोलाले छुटयाउँछ, बराहक्षेत्रका साथीहरुले डोजर, टिपर लगाउने काम भएको पाइएको छ, त्यसले सीमाना अतिक्रमण भएको हो’, उनले फोन सम्पर्कमा भने, ‘त्यस्तो कार्य हामीले तीन चारदिनदेखि रोकिरहेका थियौं, त्यसको रोकथामका लागि अनुगमनमा पुगेका हौं ।’
उनले जहाँ अतिक्रमण भएको छ, त्यहीँ बसेर छलफल पनि चलाइसकेको जानकारी दिए । उनले त्यहाँ केहीबेर छलफल पनि चलेको बताए । बराहक्षेत्र नगरपालिकाका मेयर, जनप्रतिनिधि र धरान उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीसहितको टोलीले अनुगमन र छलफल गरेर फर्किएको उनले बताए । छलफलमा सीमाङ्कन गरेर सीमा कति हो भन्नेबारेमा छुटयाउने सहमति भएको उनले जानकारी दिए । ‘अहिले अनुगमन गरेर फर्किसकेका छौं’, उनले भने, ‘अझै दुवैपक्ष बसेर के कति सीमाना अतिक्रमण भयो र त्यसलाई कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल चल्नेछ र छलफलबाटै सीमाको समस्या टुंग्याउँछौं ।’