धरानः निषेधाज्ञाको समयमा ग्यास अभाव हुन् नदिने भन्दै आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमले पर्याप्त मात्रामा ग्यास आयात गरिरहेकोले उपभोक्तालाई चिन्ता मुक्त रहन आग्रह गरेको हो ।
आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार निगमले चैत महिनामा मात्र भारतबाट ४७ हजार टन ग्यास आयात गरेको छ । त्यसैले निषेधाज्ञा अवधिको लागि पुग्ने ग्यास रहेकोले उपभोक्तालाई ग्यासको अभाव नहुने उनले बताए । उनले भने, ‘अहिले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ, यो बेला होटल र रेस्टुरेन्ट बन्द छन् । त्यसैले ग्यासको ठूलो खपत खासै हुँदैन ।’
निगमले विश्वस्त पार्न खोजेपनी उपभोक्ता भने आत्तिएर बढी ग्यास खरिद गरिरहेका छन् । यसरी सबैले सञ्चित गर्ने क्रम जारी राख्दा ग्यासको अभाव नै पो हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा बढेको छ । तर, हल्लाको भरमा ग्यासको अभाव हुन्छ भन्ने तिर नलाग्न प्रवक्ता उपाध्यायले आग्रह गरेका छन् ।