धरानः धरानको भानुचौक वरपरका पोलका अव्यवस्थित तारहरु व्यवस्थित गर्न थालिएको छ ।
नेपाल विद्युत प्रधिकरण धरान, घण्टाघर सडक निर्माण उपभोक्ता समिति, २ नंं वडा कार्यालय र केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुको सहकार्यमा सो कार्य भएको हो ।
पहिलोचरणमा भानुचौक क्षेत्रका पोलका अव्यवस्थित तारहरु व्यवस्थापन गरेपछि क्रमशः धरानको मुख्य क्षेत्रहरुको तारहरु पनि व्यवस्थापन गरिने समितिका अध्यक्ष रमेश राईले बताए ।
पोलहरुमा अव्यवस्थित रुपमा लत्रिएको र झुण्डिएको तारहरुका कारण बाँदरहरु र ठूला सवारी साधनहरुले चुट्याउने हुँदा दुर्घटना समेत हुने गरेको छ । यसरी अव्यवस्थित तारहरुका कारण विद्युत प्रधिकरण, टेलिकम अफिस र टिभी इन्टरनेट सेवा प्रदायकलाई समेत सेवा प्रवाह गर्न समस्या भएको थियो । यसमा आवश्यक सहयोग र अगुवाई गर्न नेपाल विद्युत प्राधिकरण धरानको तर्फबाट तत्पर रहेको प्रमुख इन्जिनियर प्रताप बरालले बताए ।
धरानको देशीलाइन सडकको दुवैतर्फ पोलहरु राखिएकोले कुनैपनि तारहरु सडक क्रस गर्न नदिने गरी व्यवस्था गर्ने योजना रहेको धरान २ नं. वडा सदस्य धर्म तामाङले बताए ।