धरानः इटहरीबाट हिँड्दै आइपुगेका तेह्रथुमका विमल चौहान तीनकुनेमा भेटिए ।
तेह्रथुम जान भनी हिँडेका उनीसँगै ७ जना यात्रु धरान आइपुगेका हुन् । ‘खासमा बन्द भन्ने पनि थाहा थियो तर तेह्रथुम पुग्नैपर्नेछ नहिँडेर के गर्नु ?’, भेटमा उनले भने, ‘तर कसरी पुग्ने भन्ने टुंगो छैन, धरानदेखि माथिदेखि गाडी पाउँछ भनेर दौडिरहेका छौं ।’
यस्तै, उर्लाबारी जान लागेकी समिना राई पनि भानुचोकमा भेटिइन् । बीपी प्रतिष्ठानमा आफन्तको उपचारपछि धरानमा रहेका आफन्तकहाँ बसेकी उनले निषेधाज्ञाबारे त थाहा थियो तर लकडाउन नै होला भन्ने नसोचेको बताइन् । ‘आमाबुबाले निषेधाज्ञामा जोरविजोर प्रणालीमा गाडी चलिरहेको छ, छिटो घर आइज भनिरहनुभएको थियो, लकडाउन नै होला भन्ने सोंचेकी थिइनँ भानुचोकमा आएर अलपत्र परें ।’ केहीबेरमा गाडी नचल्ने चाल पाएपछि उनी धरानमा रहेका आफन्तको घरतिरै फर्किइन् ।
भोजपुरदेखि धरानमा पढ्दै गरेकी छोरी लिन आइपुगेका भोजपुरका रमेश क्षत्री पनि भानुचोकमै भेटिए । ‘लकडाउनले गर्दा रोकियौं’, उनले भने, ‘सवारी भानुचोकमा कसैको निजी सवारी भएपनि आइहाल्छ कि भनेर कुरिरहेका छौं तर कसैले गाडी रोक्न मानिरहेका छैनन् ।’ उनले आफन्तको घरमा बस्दाबस्दा हैरान बनेको र घरमा नपुगी नहुने काम आइपरेकोले रोकिएको बताए ।
यस्तै, भानुचोकमै भेटिए नवदम्पत्ति । उनीहरु पनि लकडाउनले भानुचोकमा अलपत्र परेको भेटिए । ‘भर्खर विवाह गरेर धरान बस्दै आएका थियौं, लकडाउन नै होला भन्ने सोंचेका थिएनौं तर एक्कासी लकडाउन भयो, कसरी मोरङ घर फिर्ने ?’
सवारी नचले हिँडेरै घर पुग्ने अठोट लिएको अधिकांशले बताए । ‘हामी त अब इटहरीदेखि हिँड्यौं, सवारी पाइएन भने हिँडेरै भएपनि घर पुग्नैपरयो’, तेह्रथुमका चौहानले भने ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कोशी हाइवेमा सवारी चलिरहेको बताए । उनले भने, ‘विराटनगरदेखि संखुवासभा पुग्ने, झापादेखि भोजपुर पुग्ने, अन्य जिल्लाबाट पहाडी क्षेत्र जानेलाई रोकेका छैनौं’, उनले भने, ‘अहिले पनि सवारी चलिरहेको अवस्था छ ।’
तस्वीरः हाम्रो कोशी आवाज






