विराटनगरः विवाहमा जानुछ भन्दै हिँडेकी महिला मृत भेटिएकी छिन् ।
शनिबार दिउँसो उनी फार्मबाट विवाहमा जानुछ भन्दै उनी घरबाट निस्किएकी थिइन् । रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा एक महिला मृत फेला परेकी हुन् । मृतक महिला कानेपोखरी–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेन मुर्मी भएको खुलेको प्रहरीले जनाएको छ ।
मकैबारीमा घाँस काट्न जाँदा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना शंकास्पद भएपछि कुकुरसहितको टोली परिचालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईले सरिताका श्रीमान केही समयअघि नै बितिसकेको र हत्या गरिएको आशंकामा प्रहरीले दुई पुरूषलाई पक्राउ गरिएको जानकारी दिए ।
अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले उनीहरूको पहिचान खुलाइसकेको छैन । ती महिलाको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने उनले जानकारी दिए ।
उनको घाँटीमा निलडाम देखिएको छ । उनको शव पनि कोशी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
सरिताको बलात्कार पनि भएको हो कि भन्ने प्रहरीले आशंका गरेको थियो । तर प्रारम्भिक अनुसन्धानमा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । पुरानो झगडाका कारण उनको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएका दुई जनामाथि सोधपुछ तथा थप अनुसन्धान अघि बढाएको छ ।