Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

त्यो डरलाग्दो अक्करको भीर

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
त्यो डरलाग्दो अक्करको भीर

जीप खस्दा यो बाटो कालोपत्रे भइसकेको थिएन ।

धरानः पूर्वमा धेरैलाई थाहा छ, त्यो अक्करको डरलाग्दो भीर । थाहा नभए, नदेखेपनि सुनेकोचाहिँ पक्कै हुनुपर्छ । अक्करको भीरबाटै पनि धेरै भरिया खसेको स्थानीयबासी बताउँछन् । संखुवासभाको खराङ, तुम्लिङटार, खाँदबारी, चैनपुरसम्म हिले र धरानबाट ढाकरमा नुन, तेल, खाद्यान्न बोकिन्थ्यो । भनौं, त्यतिबेला धेरैलाई यो बाटो काट्न धौ धौ हुने गरेको थियो । तर अहिले ती र त्यस्ता कुरा किंवदन्तीमै सीमित भएको छ । अहिले त्यहाँ भीरको ढुङ्गा कोपेर गाडी गुड्ने राम्रो बाटो बनाइएको छ । अहिले निजी सवारीमा यात्रा गर्ने यात्रुले टिकटक बनाउन समेत थालेका छन् ।
यसअघि सो ठाउँले चर्चा कमाएकै थियो । २०७६ भदौ ३१ गते एउटा अकल्पनीय घटना घटेको थियो । धर्मदेवी नगरपालिका=८ मा पर्ने यो अक्करको भीरबाट अरुण नदीमा खसेर जीपका चालकसहित बेपत्ता ६ जना बेपत्ता भएका थिए । जीप खस्दा यो बाटो कालोपत्रे भइसकेको थिएन । बेपत्ताको शव अहिलेसम्म भेटिएको छैन । जीप दुर्घटनामा एकै परिवारका तीनजना बेपत्ता भएका थिए । को १ ज ३७४९ नम्बरको बोलेरो जीप त्यहाँबाट खसेको थियो ।
त्यतिबेला शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो । बेपत्ता भएका यात्रु फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका थिए ।
बेपत्ता हुनेमा खाँदबारी नगरपालिका-९ ढुङगेधारा घर भएका २४ वर्षीय संगम श्रेष्ठ उनकी श्रीमती २३ वर्षीय सदीक्षा राई श्रेष्ठको दुई महिनाका छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, २९ वर्षीय खबरमान पिठाकोटी र खाँदबारी-९ घर भएका जीपका चालक २५ वर्षीय सन्तोष विश्वकर्मा छन् ।
जिल्ला अस्पताल खाँदबारीले मृगौलाका बिरामी प्रमेश र दुई महिनाका बालक समिर श्रेष्ठलाई उपचार हुन नसक्ने जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । धरान हिँडेका उनीहरुको अक्करको भीरको बीच बाटोबाट राति साढे १० बजे खसेको थियो । जीप सडक भन्दा करिब ५० मिटर तल अरुणमा खसेर बेपत्ता भएको थियो । गोताखोर टोली बोलाउँदा समेत शव र बोलेरो भेटिएन । अहिले सो ठाउँमा मृतकको स्मृतिमा मन्दिर र धर्म फलैंचासमेत निर्माण गरिएको छ ।
धनकुटाको लेगुवा–तुम्लिङटारअन्तर्गत पर्ने सो सडक अहिले पिच भइसकेको छ । तर पनि अक्करको भीरमा पर्ने सडकमा भने साँघुरो नै छ । अझै भीर कोप्नुपर्ने देखिन्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु आजको आवश्यकता हो ।
सडक कालोपत्रे नहुँदा सास्ती
हिले-तुम्लिङटारअन्तर्गत पर्ने यो सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छ ।
अहिले पनि सो सडकमा समस्या नै देखियो । ठाउँठाउँमा कालोपत्रे छ तर हिले-लेगुवा सडक कालोपत्रे हुन सकेको देखिएन । हिले-केवा खोला (लेगुवा केही पर) सडक म्याद गुज्रिँदा समेत कालोपत्र हुन सकेको देखिएन । समयमा कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्य हुने गरेको र सास्ती खेप्दै आएको स्थानीयबासी बताउँछन् ।

ठाउँठाउँ कालोपत्रे गरिएपनि अन्य ठाउँ जस्ताको त्यस्तै छ । कालोपत्रेका लागि ठेक्का लगाइएको समय पनि गुज्रिसकेको र पटक-पटक म्याद थपिँदा पनि कालोपत्रे हुन नसकेको स्थानीयबासीले बताएका छन् । ‘खासमा यो सडक समयमै सकिनुपर्ने हो तर अहिलेसम्म नसकिँदा यात्रु, स्थानीयबासीले सास्ती खेपिरहनुपरेको छ’, लेगुवाका स्थानीय भुवन बस्नेतले भने, ‘यस्तो पाराले त भएन नि ।’ सडकमा उड्ने धुलोले स्थानीय खान समेत राम्ररी नपाएको र रोगको शिकार बन्नुपर्ने बाध्यतामा गुज्रिरहेको उनी बताउँछन् ।
विरुवा कन्ट्रक्सनले तीन वर्षभित्र सक्ने भन्दै आएपनि अहिलेसम्म नसकिएको उनी बताउँछन् । ‘यो सडकका लागि पटक पटक, समय समयमा म्याद थपिएको थियो’, उनले भने, ‘तरपनि जस्ताको त्यस्तै छ ।’
२०७६ चैत मसान्तसम्म सक्ने भन्दै जिम्मा लिएपनि सम्झौताअनुसार काम सम्पन्न नभएपछि गत पुस १५ सम्म म्याद थपिएको थियो । थपिएको समय अवधिमा पनि सडक कालोपत्रे हुन सकेन । र पुनः म्याद थपिएको स्थानीयबासी बताउँछन् ।
करिब २९ करोड रुपैयाँको लगानीमा ठेक्का लिएको कन्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानमा कालोपत्रे र अधिकांश ठाउँमा कवर्ट र नाली मात्रै बनाएको पाइएको छ । एक वर्षअघि नै कालोपत्रे गर्ने भनिएपनि हालसम्म नसकिएको स्थानीयबासी बताउँछन् ।
कालोपत्रे नहुँदा सवारी चल्न सहज नबनेको उनीहरु बताउँछन् । ‘वर्षामा हिलो गाडी फँस्दा यात्रु र सवारी चालक हैरान बनेका छन्’, स्थानीय, ‘छिटो कालोपत्रे गर्नुपर्ने देखिएको छ ।’ कन्ट्रक्सनले भने लकडाउनले काममा ढिलो हुँदै आएको बताउँछ । संखुवासभाबाट फर्केर । तस्वीरः हाम्रो कोशी आवाज

अक्करको भीर जीप खसेपछि खोज्दै गोताखोरको टोली । वर्षाको समयमा उर्लिएको अरुण ।

भीरबाट जीप खसेपछि हेर्दै स्थानीय र यात्रुहरु (माथि) र शव नभेटिएपछि कुशको शव बनाएर जलाउँदै स्थानीय ।

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend