धरानः आज राष्ट्रिय पत्रकारिता दिवस हो । सरकारले यही अवसरमा पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार घोषणा गरेको छ । इतिहासमा पहिलोपटक पुरस्कृत गर्न लागिएको हो ।
शुक्रबार आयोजित कार्यक्रममा सरकारले चारजना वरिष्ठ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान तथा १२ जना पत्रकारलाई पछिल्लो दुई वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिइएको थियो ।
सञ्चार मन्त्रालयले घोषणा गरेका नाममध्ये २०७६ सालको वरिष्ठ पत्रकार सम्मान २०७६ द्वारा धरानका हर्ष सुब्बा र मरणोपरान्त शुकदेव नेपाल अर्थात् अग्निशिखालाई र २०७७ सालको हकमा रघु मैनाली र शार्दुल भट्टराईलाई वरिष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । सो पुरस्कारको राशी २ लाख रुपैयाँको रहेको छ ।
त्यसैगरी १ लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारको निम्ति उजिर मगर, मातृका पौडेल, शेषराज दाहाल, संगीता खड्का, हेमन्त विक र शीतल साह रहेका छन् । नेपाल टेलिभिजनका दिलिप थापा मगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नीतु पण्डित र पुनम पौडेल पनि पुरस्कृत हुनेमा परेका छन् । पण्डित सञ्चारिका समूहकी अध्यक्ष हुन् भने पौडेल कान्तिपुर टेलिभिजनकी पूर्व समाचार वाचिका हुन् । घोषणा गरिएको पुरस्कार उपयुक्त समयमा हालको असहज अवस्था सहज भएपछि राष्ट्रपति विद्या भण्डारीको हातबाट प्रदान गरिने बताइएको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पत्रकारिता क्षेत्रलाई स्वस्थ, मर्यादित र अझ गुणस्तरीय बनाउन सरकारले छिट्टै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।
छैटौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा मन्त्री गुरुङले त्यस्तो बताएका हुन् ।
प्रतिष्ठानको स्थापनाबाट पत्रकारहरूको व्यावसायिक क्षमतामा थप अभिवृद्धि हुने बताउँदै मन्त्री गुरुङले त्यसबाट मुलुक र समाजले अपेक्षा गरेअनुसार पत्रकारिता क्षेत्रले पनि योगदान पुरयाउन सक्ने विश्वास व्यक्त गरे । कोरोनाको जोखिममा रहेको पत्रकारिता क्षेत्रको संरक्षण र पत्रकारहरूको स्वास्थ्य सुरक्षामा सरकार संवेदनशील रहेको जानकारी दिँदै उनले सरकारले पत्रकार कल्याणकारी कोषलाई थप व्यवस्थित र परिमार्जित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको पनि बताए ।
मन्त्री गुरुङले राज्यका तर्फबाट प्रदान गरिएको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सबैका लागि प्रेरणाको स्रोतका रूपमा नमुना पत्रकार बनेमा पुरस्कारको गरिमा अझ बढ्ने बताए । कोभिड संक्रमणको रफ्तार बढेका कारण पुरस्कार वितरण कार्यक्रम आयोजना गर्न नसकिए पनि संक्रमणको जोखिम कम भएपछि उपयुक्त समयमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्ने सोच राखिएको उनले जानकारी दिए ।
