बराहक्षेत्रः बराहक्षेत्रका युवालाई प्रहरीले पक्राउ गरेको छ । साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको बराह–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको हो ।
२४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।
करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशवकुमार कटवालले बताए ।
केहीदिनअघि अनुहार र टाउकोमा भारी वस्तुले प्रहार गरेको अवस्थामा शव भेटिएको थियो ।
मृतक अन्दाजी २८–३० उमेरको भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । शवको प्रकृति हेर्दा हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको थियो ।
मृतकको शव नजिकै अस्थायी बसोबासको लागि बनाइएको पाल र बोरा समेत भेटिएको थियो । शवलाई पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।