धरानः करिब हप्तादिनअघि धरानको बरगाछीमा दुर्घटना भयो । मोटरसाइकलको ठक्करले राजु चाम्लिङको उपचारका क्रममा क्रममा निधन भएको छ । तर ठक्कर दिने व्यक्ति भागेको भाग्यै भए । प्रहरीले खोजी तीब्र पारेपनि ठक्कर दिने व्यक्ति र सवारी कहीँकतै फेला पार्न सकेको छैन ।
ठक्कर दिएको बखतको सिसीटिभी फुटेज अहिले इलाका प्रहरी कार्यालयमा पुगेको छ । ‘खासमा गाह्रो काम भयो, सिसीटिभी फुटेजले ठक्कर दिने सवारी र धनी चिन्नै सकिएको छैन’, डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘सिसीटिभीबाहेकका अन्य गतिविधि नियाल्दै हरतरहले अन्य प्रयास भइरहेको छ ।’
श्रीमती ममता चाम्लिङका अनुसार ठक्कर दिएपछि गम्भीर घाइते अवस्थामा उनको उपचार गरिएपनि उपचार सम्भव भएन । ‘दुर्घटनालगत्तै उपचार गर्न अस्पताल लग्यौं तर उपचारकै क्रममा निधन भयो’, उनले भनिन्, ‘प्रहरीमा जाहेरी दिइसकेका छौं, आशावादी छौं, ठक्कर दिने सवारी र धनी पत्ता लाग्ला ।’
परिवारको विचल्नी
श्रीमानको मृत्यु भएपछि अहिले ममता र उनका छोराको विचल्नी भएको छ । मजदुरी काम गर्दै आएका श्रीमानको मृत्युपछि आफूहरुको विचल्नी भएको उनले बताइन् ।
उनीहरु विगत १५ वर्षदेखि धरान–१५ मा बस्दै आएका थिए । मृतक राजुको काजकिरियाको लागि घर जान खर्च समेत अभाव भएको उनले बताइन् । उनको काजकिरियाका लागि उदयपुरको रौता पोखरी जानुपर्ने तर खर्च अभावले जान नसकेको उनले दुखेसो पोखिन् ।
यसैबीच मानव समाज कल्याण समाजले पाँच हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । समाजका अरमान अलीले सो सामग्री ममतालाई हस्तान्तरण गरेका थिए । सो दुर्घटना धरानको बगरगाछी प्रहरी चौकीनजिक भएको हो ।
तस्वीरः निमा पोङसुवा