धरानः संक्रमणको फाइदा उठाउँदै जथाभावी मूल्य तोकेर मास्क तथा सेनिटाइजर बिक्री गर्ने धरानका केही पसललाई वाणिज्य तथा आपूर्ति कार्यालय विराटनगरको टोलीले कारवाही गरेको छ ।
मास्क तथा सेनिटाइजरमा दोब्बर मूल्य लिने गरेको गुनासो आपूर्ति कार्यालय विराटनगरमा परेपछि सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि खोलिएका तीनवटा मेडिकल पसलमा अनुगमन गर्दा दुईवटामा मूल्यभन्दा बढीमा र एउटामा भने तोकिएकै मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोख्रेलको अगुवाइमा इलाका प्रशासन कार्यालय धरान, प्रहरी प्रशासन र पत्रकारको संयुक्त टोलीले अनुगमन गर्दा अधिकांश मेडिकलहरुले तोकेको मूल्यभन्दा बढी मूल्यमा मास्क र सेनिटाइजर बिक्री गरेको पाइएपछि उनीहरुलाई कारवाही समेत गरिएको थियो ।
कार्यालयले तीनवटा मेडिकल पसलमा अनुगमन गरेको थियो । अनुगमन क्रममामा सुजिता सुनुवारले सञ्चालन गरेको सुनौलो मेडिकल हल र सरिता साह र किशोर साहले सञ्चालन गरेका टाटा फार्मेसीले खरिद विल पेश गर्न सकेन ।
खरिद विल पेश नगरी जथाभावी मूल्यमा बिक्री गर्ने गरेको पाएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लेख भए अनुसार जरिवाना स्वरुप क्रमशः २०–२० हजार रुपैयाँ लिइएको थियो । यस्तै अनुगमनका क्रममा बलराम अग्रवाल सञ्चालन गरेको गार्जियन फर्मामा भने त्यस्तो केही नपाइएको प्रमुख पोख्रेलले बताए ।
कार्यालयका प्रमुख पोखरेलले वैशाख ११ गते ब्लडसुगर चेक गर्ने मेसिन ग्लुकोमिटरको मूल्य महङ्गोमा बेचेको भन्दै वाणिज्य कार्यालयमा उजुरी गरेपछि कार्यालयले सोमबार प्रतिष्ठानका गेट अगाडि सञ्चालनमा आएका मेडिकल तीनवटा मेडिकल पसलहरुमा अनुगमन गरिएको बताए । उनले भने, ‘उपभोक्ताले सुनौलो मेडिकलले अत्याधिक मूल्यमा औषधिहरु बिक्री गर्ने गरेको उजुरी उपभोक्ताले कार्यालयमा दिएपछि हामीले यहा आएर अनुगमन गरेका हौं । अनुगमनका क्रममा उजुरीमा जे थियो त्यो सत्य सावित भयो ।’ उनले तीनवटा मेडिकल पसलमा अनुगमन गर्दा दुईवटामा भने खरिद विल उपलब्ध नगराएको बताए ।
उनले भने, ‘मेडिकलवालाहरुले खरिद गरेको सामाग्री २० प्रतिशत भन्दा बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्न नपाउने भएपनि १ सय प्रतिशत भन्दा बढी मूल्य बढाएर विक्री गरेको पाइएको बताए । उनले भने, ‘पाँच रुपैयाँ पर्ने सर्जिकल मास्कलाई १० रुपैयाँ, १ सय रुपैयाँ पर्ने सेनिटाइजरलाई १ सय ४० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको बताए । उलने भने, ‘हामीले उनीहरुलाई कार्वाही स्वरुप जरिवाना लिएका छौं, अब यस्तो नहोस् भनेर सम्झाएर गएका छौंं, फेरि त्यस्तो भेटिएमा कानून बमोजिम हामी कारवाही गर्छौ ।’