Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः फेरि बढाइयो लकडाउन

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
अन्ततः फेरि बढाइयो लकडाउन

धरानः सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ ।
बैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन फेरि बढाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म जिल्लामा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरेको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि सोको न्यूनीकरणका लागि वैशाख ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा संक्रमणको दर हालसम्म उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा जेठ १५ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको उल्लेख छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
अवधिमा औषधी खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन पाइनेछैन भने औषधी र स्वास्थ्य सामग्री तथा इन्धन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याँस मात्र मात्र खोल्न पाइनेछ । यसैगरी, होटल तथा रेष्टुरेष्टहरु पनि पूर्णरुपमा बन्द गरिने प्रशासनले जनाएको छ । यस्तै, कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई स्थगित गर्ने निर्णय भएको प्रशासनको सूचनामा जनाइएको छ ।
यसैगरी सभा सम्मेलनको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल,सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न पाइने छैन ।
नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा अत्यावश्यक सेवामा कार्यरत कर्मचारी बाहेक कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा बिहान ९ बजे देखी १० बजे सम्म र दिउसो ५ बजे देखि ६ बजे सम्म मात्र आवत जावत गर्न दिइनेछ ।
वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु फर्कनु पर्ने भएमा दुलाहा दुलही सहित १० जना भन्दा बढी नहुने गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवत जावत गर्न पाउनेछ । यसै गरी भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गरिएको छ । यसै गरी अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बुद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने या आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुनेछ ।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend