धरानः लकडाउनले खान नपाएका सडक मानवले केहीदिन सहजै खान पाउने भएका छन् ।
धरानको लोकतान्त्रिक चौतारीमा खाना पकाएर खानेहरुले तीनदिनदेखि बल्ल शनिबार मात्रै खान पाएको र अन्य दिनमा पनि तीन चार दिनमा मात्रै खाना समेत खान पाएको चिन्ता व्यक्त गरेको समाचार हाम्रो कोशी आवाज डटकममा प्रकाशित भएको थियो । सो चिन्ताबारेको समाचार थाहा पाएपछि तरहरा निवासी मिलन राई (मिलन राना साम्पाङ राई) ले २५ केजी चामल, तेल, दाल, तरकारी, पानी धरान आइपुगेर वितरण गरेका छन् । ‘खासमा समाचार पढेपछि मनमै छोयो, त्यसपछि केहीदिनलाई खान पुग्नेगरी भएपनि केही दिन्छु भन्ने लागेर यहाँसम्म आएर थोरै भएपनि खाद्यान्न बाँडेको हुँ ।’
लकडाउनको समयमा केही खान नपाइरहेको अवस्थामा उनीहरुका लागि यतिबेला ज्यान मात्रै भएपनि बच्न सकोस् भन्ने हेतुले आफू सहयोग गर्न तत्पर बनेको बताए । ‘अन्य बेला के गर्छन्, कसो गर्छन् थाहा भएन तर यतिबेला भनेको उनीहरुको ज्यान कसरी बचाउने भन्ने कुरा महत्वपूर्ण हो’, उनले भने, ‘त्यही भएर ज्यानमात्रै भएपनि बच्न सकोस् भनेर थोरै चामल भएपनि सहयोग गरेको हुँ ।’ उनले यसअघि पनि सामाजिक काम गर्दै आएको बताएका छन् ।
५ जना बालबालिकासहित ६ जनाले लोकतान्त्रिक चौतारीमुनि खाना पकाउँदै खाँदै यही चौतारीमै सुतेर दिनरात कटाउँदै आएका छन् । उनीहरुले लकडाउनले आफूहरुको गाँस खोसिएको बताउँदै आएका छन् । ‘अन्य बेला त मागेर पनि खाँदै आएका थियौं’, विशाल राईले भने, ‘तर लकडाउनले खाना खाने पैसा समेत छैन ।’
धेरैदिनपछि उनीहरुले एकछाक मात्रै खाना खान पाउँदै आएको बताएका छन् । ‘लकडाउन छ, कसैले केही दिँदैन’, राजन घिमिरेले दुखेसो पोखे, ‘अहिले त पानी माग्दा समेत दिँदैनन् ।’
धरानमा कहिल्यै निमिटयान्नै हुन सकेका छैनन् सडक मानव । अघिल्लो वर्ष सरकारले ३१ बालबालिकाको उद्धार गरेको थियो तर त्यसपछि पनि भानुचोकमा सडक बालबालिका र सडक मानव देखिने क्रम रोकिएको छैन । तस्वीरः लक्ष्मण थापा


