धरानः धरानमा संसद विघटन असंवैधानिक भएको भन्दै विरोध शुरु हुन थालेको छ । प्रदर्शनको बेला ब्यापक प्रहरी पनि परिचालित थिए ।
आइतबार धरानमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान परिषद्लगायतले संयुक्तरुपमा संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन् । संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन आयोजना गरिएको माओवादी केन्द्रका चोत्लुङले बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले सत्ता र शक्तिको चलखेलले बेमौसममा संसदलाई भंग गरिनु अलोकतान्त्रिक, असंवधानिक र प्रतिगामी कदम भएको बताए ।
माओवादी केन्द्रका सुदर्शन श्रेष्ठले जनतालाई राहत, अक्सिजन र कोभिड खोपको व्यवस्था गर्दै जनतालाई राहत दिनुपर्नेमा सत्ताको दुरुपयोग गर्दै प्रतिगामी कदम चाल्ने सरकारविरुद्ध दिनहुँजसो आन्दोलनका कार्यक्रम ल्याइरहने बताए । उनले शनिबार र आज (आइतबार) विरोधका कार्यक्रम भएको र दिनहुँजसो फरक किसिमका विरोधका कार्यक्रम ल्याइरहने बताए ।
संविधानमाथि पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संविधान मिचेको हुनाले आफूहरु सडकमा आएको नेता चोत्लुङले बताए । ‘संविधानको चीरहरण गर्ने ओली उनका रबर स्टयाम्पजस्तै भूमिका खेल्ने कार्यविरुद्ध हामी सधैंजसो सडकमै भइरहनेछौं’, उनले भने, ‘यसका लागि सबै एक हुन आवश्यक छ ।’
संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर, असंवैधानिक कदम मुर्दावाद, प्रधानमन्त्री, राष्ट्रपति गठबन्धन मुर्दावादजस्ता नारा र प्लेकार्डसहित समाजवादीको कार्यालय धरानबाट निस्किएको जुलुस भानुचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले विघटन असंवैधानिक भएकाले संसद पुनस्थापना गर्नुपर्ने माग गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि समेत गुम्ने अवस्था सिर्जना भएकोमा संसद पुनस्थापना नभएसम्म आन्दोलन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
जनताले स्पष्ट बहुमत दिएर पाँच वर्षका लागि सरकार सञ्चालन गर्ने म्याण्डेट दिँदा दिँदै सनकका भरमा संसद विघटन गर्नु जनमतको गम्भीर अवमूल्यन भएको नेताको दावी छ ।
तस्वीरः हाम्रो कोशी आवाज













