Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा दलहरुको दबाव

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
बीपी प्रतिष्ठानमा दलहरुको दबाव

धरानः धरानमा संसद विघटनको विरोध गरिरहेका दलहरुले सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर दबाव दिएका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।
बीपी प्रतिष्ठानमा लापरवाहीले हद सीमा नाघेको भन्दै दलहरु दबाव दिन पुगेका छन् । इमरजेन्सी, आइसियु, अक्सिजनलगायतका सेवामा लापरवाहीले लथालिङ्ग बन्दै गएको र बीपीका पदाधिकारी भने भ्रष्टाचारमा लिप्त बन्दै गएको हुनाले सेवालाई चुस्तदुरुस्त ढङ्गले अघि बढाउन माग गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोल तामाङले जानकारी दिए ।
‘अक्सिजन छैन भन्दै गैरजिम्मेवारपूर्ण ढङ्गले बिरामी नल्याउनु भन्नु नै बीपीको लापरवाही हो’, उनले भने, ‘यत्रो ठूलो अस्पतालले यस्तो भन्न सुहाउँदैन, सेवालाई चुस्तदुरुस्त राख्नुपर्छ भन्ने हाम्रो माग हो ।’
लापरवाहीले हद सीमा नाघेका हुनाले दबाव दिन यस्तो कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रका संयोजक चोत्लुङले जानकारी दिए । उनले बीपी प्रतिष्ठानलाई सुधारको अभियानमा लागिरहने बताए । नेकपा माधव समूह (नेकपा एमाले) का नगर अध्यक्ष नारायण सुवेदीले बीपीमा जहिल्यै लफडा हुने गरेको र अहिले कोभिड महामारीको बेलामा अक्सिजन छ भन्दै पन्छिन नमिल्ने बताए ।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूले प्रतिष्ठानको चरम लापरवाहीले जनताले दुःख पाइरहेको बताए । ‘यति ठूलो अस्पताल लथालिङ्ग र भताभुङ्ग पाराले सञ्चालन गरिनु भएन’, उनले भने, ‘यदि यसो गरिए धराने दल रमिता हेरेर बस्दैन ।’
अक्सिजन प्लान्ट तत्काल मर्मत गर्नुपर्ने, अस्पतालको उपचारमा सुधार गर्नुपर्नेलगायतका माग राख्दै दलहरु त्यहाँ पुगेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा एमाले (माधव समूह), संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टीलगायत दलका नेताले त्यहाँ पुगेर दबाव दिएका हुन् ।

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend