धरानः संसद विघटनविरुद्ध उत्रिएका धरानका रचनात्मक कार्य गर्दै, जनताको आवाज बोकेर दौडिन थालेका छन् । केहीदिनअघि भानुचोकमा जुलुस लिएर निस्किएका दलहरु जनताको गुनासो आउन थालेपछि त्यतातिर ध्यानाकर्षित भएका हुन् । महामारीको बेलामा जुलुस र धर्नामा हिँडेको भन्दै दलहरुप्रति सामाजिक सञ्जालमा टिका टिप्पणी हुन थालेको थियो ।
यसैक्रममा मङ्गलबार धरानका राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर उनीहरुले बीपी प्रतिष्ठानको लापरवाही र भ्रष्टाचार नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका छन् ।
दलहरुले बीपी प्रतिष्ठानमा स्वास्थ्य उपचार सेवामा भएका लापरवाही र ब्याप्त भ्रष्टाचारको विषयमा कुरा उठाउँदै ज्ञापनपत्र बुझाइएका हुन् । मेयर राईलाई ज्ञापनपत्र बुझाउँदै बीपी सुधारिनुपर्ने अभियानमा समेत आफूहरु लागेको माओवादी केन्द्रका चोत्लुङले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको सञ्चालक परिषदको सदस्य भएको नाताले प्रतिष्ठानका सबै खाले विकृति, विसंगति, लापरवाही, भ्रष्टाचार, अनियमितताको अन्त्य गर्दै गुणस्तरीय सेव प्रदान हुनुपर्ने विषयको ज्ञापनपत्र बुझाइएको कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै मेयर राईले बीपी प्रतिष्ठानले लापरवाही गरेको जनगुनासो बढ्दै गएको बताए । उनले आफूहरुको त्यहाँका तल्लो तहका कर्मचारीसँग मात्रै सम्पर्क रहेको जानकारी दिए । ‘बीपी प्रतिष्ठानसँग हाम्रो समन्वयमा काम पनि भइरहेको छ, तर उपकुलपति, डाइरेक्टर, प्रशासन प्रमुख हाम्रो सम्पर्कमा हुनुहुन्नँ’, उनले भने, ‘समन्वय गर्न खोज्दा उनीहरुको फोन नउठ्ने, एसएमएस गर्दा रिप्लाइ नहुने, चिकित्सकसँग सम्पर्क गर्नुपर्ने बाध्यता छ ।’
प्रतिष्ठानमा कोरोनाको महामारीमा कोभिड अस्पतालमा बेडको अभाव, अक्सिजनको अभाव, भेन्टिलेटरको अभाव तथा चिकित्सक, स्वास्थ्यकर्मीको समेत अभाव रहेको छ । प्रतिष्ठानमा हाल आइसियु र डायलाइसिसको हालसम्म विस्तार हुन सकेको छैन । दलहरुका अनुसार प्रतिष्ठानका पदाधिकारी कमिसन भ्रष्टाचारमै लिप्त छन् ।
मङ्गलबार धरानका दल नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतसहित ८ राजनीतिक दलले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
तस्वीरः दिलबहादुर राई
