Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवाबीचको झगडा

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७८, बिहिबार
धरानमा युवाबीचको झगडा

धरानः धरान-१५ को अस्थायी प्रहरी चौकी (नयाँ बसपार्क छेऊ) छेऊमा तोडफोड भएको छ ।
तोडफोडअघि दुई समूहबीचको झगडाले उग्ररुप लिएको थियो । दुई समूहबीच झगडा भएको र एक समूह आफूहरुलाई अर्को युवा समूहले काट्न खोजेको भन्दै उजुरी दिन प्रहरीकहाँ पुगेको र प्रहरीले छुट्याउने क्रममा चौकीमा तोडफोड समेत भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘खासमा यसअघि नै दुवै समूहबीचको झगडा भएको पाइयो’, उनले भने, ‘त्यसपछि उजुरी लेखाउन अर्को समूह त्यहाँ पुगेको पाइयो, उजुरी लेखाउँदै गर्दा अर्को समूह पुगेपछि त्यहाँसमेत झडप भएको पाइयो ।’ अनुहार नै छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका दर्जन बढी युवाहरु त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

उनका अनुसार प्रहरीका असई सुमन दाहालको हात काटिएको छ भने प्रहरी हवल्दार विजय यादव र प्रहरी जवान अरुण राजवंशी घाइते भएका छन् । साँझ ७ः०० बजे झडप भएको हो । स्थानीय एक युवालाई आक्रमण गर्न मोटरसाइकलमा आएका युवा समूह चौकीभित्र प्रवेश प्रवेश गरेको थियो ।

ती युवासँग दिउँसो नै एकपटक झगडा समेत भएको प्रहरीले जनाएको छ । एक युवाको समूहले यसअघि नै मोबाइलमार्फत् ज्यान मार्ने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ । ‘दिउँसो नै ती युवाबीच विवाद भएको रहेछ’, उनले भने, ‘एक समूहले ज्यान मार्ने धम्की दिएपछि अर्को युवाको समूह नै उजुरी दिन भन्दै प्रहरीचौकी पुगेको थियो, प्रहरी चौकी पुगेको समूहले आक्रमण नै गर्न थालेपछि प्रहरीले छुटयाउने क्रममा प्रहरीमाथि आक्रमण र प्रहरी चौकीमाथि तोडफोड शुरु भएको थियो ।’
खुकुरी, रड र तरबारसहित करिब १०–१२ जनाको समूहले पुगेको युवाको समूहले त्यहाँ आक्रमण गरेको प्रहरीले जनाएको छ । सोही क्रममा असई दाहालले हतियार धारी समूहलाई रोक्न खोज्दा दुवै हात र कुममा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । अन्य प्रहरीको अवस्था सामान्य छ । प्रहरीका अनुसार धरान-३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी पुगेका थिए ।
ती युवाहरु सोही वडामा बस्ने गरेका थिए । घाइते असईको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको उनले जानकारी दिए । घटनास्थलबाट केही थान खुकुरी र तरबार बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: जेष्ठ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend