ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिले नाम परिवर्तनप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष खगेन्द्र माखिम र मुख्य सचिव केदार धिमालद्वारा जारी विज्ञप्तिमा सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ बनाउन नहुने सुझाइएको छ ।
त्यस्तै, तेह्रथुम आठ राईस्थित ‘चुहानडाँडा विमानस्थल’ को नाम ‘स्व.आङछिरिङ शेर्पा विमानस्थल’ नामकरण गर्ने भनी घोषणा गरेकोमा पनि समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘दुर्घटना पर्नेको नाममा विमानस्थलको नाम परिवर्तन गर्नु लोकलाई लज्जित तुल्याउने घोषणा हो’, विज्ञप्तिमा भनिएको छ, ‘सुकेटार विमानस्थल निर्माणका लागि भूपू मन्त्री स्व. विष्णु मादेनको महत्वपूर्ण योगदान दिएको र एयरपोर्टको लागि मादेन वंशलगायत स्थानीयले जग्गा उपलब्ध गराएको जनाइएको छ । यस्तै, हजारौं ताप्लजुङबासीले श्रमदान गरेका थिए । तर जग्गादाता र निर्माणमा सहयोग पुरयाउने मादेनलगायत आम जनताहरूले आफ्नो नाम खोजेनन्, त्यसैले अहिले यस्तो नाम राख्नुमा आपत्तिसमेत छ ।’
यस्तै, त्यहाँका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरिसकेका छन् ।

आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो ।
बजेट भाषणमार्फत् सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गरेपछि जिल्लाका राजनीतिक दलले आपत्ति जनाएका छन । आइतबार बसेको राजनीतिक दलको बैठकले यसलाई नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । आइतबार बसेको एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा, राष्ट्रिय जनमुक्ति र संघिय लिम्बूवान मञ्चले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।
विज्ञप्तिमा कांग्रेसका मणि लाबुङ, माआवादीका विजय वनेम, राजपाका कीर्तिमान मादेन, राप्रपाका यामकुमार दाहाल, राजपाका इन्द्रकुमार थलङ र संघीय लिम्बूवानका अशोक मादेनले हस्ताक्षर गरेका छन् । यसैगरी, ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले पनि विज्ञप्ति निकालेर यसलाई सच्याउन माग गरेका छन् ।
मिति: २०७८ जेठ १६
प्रेस विज्ञप्ति
नेपाल सरकारले अध्यादेश मार्फत् सार्वजनिक गरेको आ.व. २०७८/७९ को वार्षिक योजना तथा बजेट वक्तव्य मार्फत् ता:प्लिजङ (ताप्लेजुङ) स्थित् “सुकेटार विमानस्थल”को नाम परिवर्तन गरी `स्व. रवीन्द्र अधिकारी´ विमानस्थल नामकरण गर्ने र तेह्रथुम आठराई स्थित् “चुहानडाँडा विमानस्थल” को नाम `स्व.आङ्छिरिङ शेर्पा विमानस्थल´ नामकरण गर्ने भनी घोषणा गरेकोमा जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्व. रविन्द्र अधिकारी र स्व.आङ्छिरिङको २०७५ साल फागुन १५ गते चुहानडाँडाहुँदै ता:प्लिजङ्को मुक्कुमलुङमा अनौपचारिक रूपमा घुम्न पुग्दा हेलिकोप्टर दुर्घटनामा परेका थिए। यसरी कुनै दुर्घटनामा पर्नु याेगदान होइन, त्याे त दु:खद संयाेग मात्रै हाे । दुर्घटना पर्नेको नाममा विमानस्थलको नाम परिवर्तन गर्नु लोकलाई लज्जित तुल्याउने घोषणा हो ।
यो सत्ताको अतिक्रमणकारी विषाक्त मानसिकताको उपज हो । आन्तरिक उपनिवेशवादी विकृत सोच हो ।
ता:प्लिजङ सुकेटार विमानस्थल निर्माणका लागि भूपू मन्त्री स्व. विष्णु मादेनको महत्त्वपूर्ण योगदान रहेको थियो । एयरपोर्टको लागि मादेन वंश लगायत स्थानीयले जग्गा उपलब्ध गराएका थिए ।
हजारौं ता:प्लिजङबासीले श्रमदान गरेका थिए ।
तर जग्गादाता र निर्माणमा सहयोग पुर्याउने मादेन लगायत आम जनताहरूले आफ्नो नाम खोजेनन् ।
विमानस्थल रहेको सुकेटारको पुरानो नाम आदिवासी याक्थुङ् भाषामा हावा लाग्ने डाँडा “सु:क्के तेल्लक्” हो ।
पञ्चायत कालमा विमानस्थल बनाउँदा “सु:क्के तेल्लक्”लाई खस भाषाकरण गरी `सुकेटार´ बनाइएको थियो । त्यो डाँडामा अधिक बतास चल्ने भएकोले याक्थुङ् (लिम्बू) भाषामा “सारिक् सुरिःत् केस्सुःक्पा> सुरिःत् सुःक्>सु:क्या>सु:के हुँदै `सुरिःत् केस्सुःक्पा तेन्, तेल्लक्” भनियो । `तेल्लक्´ भनेको टार वा दमदमे मैदान हो । साह्रै बतास चल्ने/लाग्ने ठाउँ भएकोले `सुके तेल्लक्´ भन्दा भन्दै खस भाषाकरण भई सुकेटार भएको हो ।
आदिवासी पुराना रैथाने स्थाननाम परिवर्तन गर्ने र अपभ्रंश तुल्याउने र अतिक्रमण गर्ने यो पहिलो घट्ना भने होइन । सुकेटार विमानस्थलदेखि नजिकै “मुक्कुमलुङ्लाई” अतिक्रमण गरी `पाथीभरा´ बनाइएको छ ।
झापाको “आदिवासी रङ्गशाला”को नाम परिवर्तन गरी `मदन भण्डारी रङ्गशाला´ नाम दिएर आयोजना अन्यत्रै स्थानान्तर गर्ने काम भइरहेको छ ।
सप्तकोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेकोे अवरोध हटाउने नाममा ऐतिहासिक स्थल “खुवालुङ्” भत्काउने योजना घोषणा गरिएको छ ।
यी त प्रतिनिधि घट्ना मात्र हुन् । यस्ता त देशभरि हजारौं छन् ।
आदिवासीहरूको सांस्कृतिक स्थलहरू अतिक्रमण गर्न पल्किएको निरङ्कुश नश्लवादी ओली सरकार इतिहासकै आदिवासी जनजातिहरूको पहिचान र आत्मसम्मान माथि निर्मम प्रहार गर्ने सरकारको रूपमा रेकर्ड कायम गर्दै गएको छ । आदिवासीहरूका लागि विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो भेरिएन्टभन्दा खतरनाक भाइरस
ओली सरकार हो ।
गोरखाली खसहिन्दू राज्य विस्तार अभियानसँगै प्रारम्भ भएको औपनिवेशीकरण प्रक्रिया एकतन्त्रीय राणाशासन र निरङ्कुश राजतन्त्रकालमा मात्र नभएर प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रकालसम्म पनि कायम रहनु अति आश्चार्यको कुरा हो । अब यस्ता हर्कतहरू रोकिनुपर्छ । कुनै हालतमा दोहोरिन र दोहोर्याउन दिनु हुन्न, दिइने छैन ।
स्व. रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने र तेह्रथुम आठराई स्थित् चुहानडाँडा विमानस्थलको नाम स्व.आङछिरिङ शेर्पा विमानस्थल नामकरण
गर्ने दुस्साहस गर्नु अनुचित छ, यो कदम घोर निन्दनीय छ । यसले आम जनताको पहिचान र आत्मसम्मानकाे भावनामा ठेस पुर्याएको छ । यो घोषणा असल नियतले आएको छैन । स्थानीय जनताको भावना र मर्मप्रति गम्भीर चोट पुर्याएको छ । यसले नयाँ द्वन्द्वको विजारोपण गरेको छ । यसको घोर विरोध र भत्सर्ना गर्दछौं ।
अत: यो काम चलाउ सरकारको सो कदम तुरुन्त सच्याइयोस् र पुरानो मौलिक ऐतिहासिक नाम कायम गरियोस् भन्ने जोड्दार माग गर्दछौं ।
एकल जातीवादी नश्लवादीहरूको अतिक्रमण र हस्तक्षेपकारी नीतिको विरुद्ध एकजुट होऔं।
लिम्बुवान जिउँदो भुमी हो, जिस्काउने प्रयास नगर ।
# सेभ् सु:क्केटार # सेभ् मुक्कुमलुङ्
# सेभ् खुवालुङ् #सेभ् आदिवासी रङ्गशाला
जय लिम्बुवान । संघीय अभिवादन ।
खगेन्द्र माखिम
अध्यक्ष
केदार धिमाल
मुख्यसचीव