धरानः सुनसरी जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बस्ने जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने जनाइएको छ ।
‘जेठ मसान्तसम्म नै लकडाउन लम्ब्याउने भनेर एक चरणमा छलफल भइसकेको छ’, जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले भने, ‘आज (शुक्रबार) बस्ने बैठकले खाद्यान्नसम्म खोल्ने निर्णय गर्नेछ ।’
प्रशासनले गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसको म्याद भोलि सकिँदैछ । बैशाख १३ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना बढी पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले निषेधाज्ञा थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । ‘तरकारी पसल खोल्नेबारेमा निर्णय नहुनसक्छ’, उनले भने, ‘तरकारी पसलले सहजै कोरोना सारिहाल्छ नि ।’
ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । अन्य खुलाउनेबारेमा स्थानीय तहसँगको समन्वयमा हुने उनले जानकारी दिए ।
