धरानः धरान उपमहानगरपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ । भानुचोक र आसपासमा ती बालकहरु कष्टपूर्ण जीवनयापन गरिरहेका थिए । ‘भानुचोकमा खाना पकाएर खानेहरू’ शीर्षकमा यसअघि हाम्रो कोशी आवाज डटकममा समाचार समेत प्रकाशित भएको थियो ।
बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा भीओसी सेन्टर काठमाडौंले उनीहरुलाई उद्दार गरेर धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । ११ देखि १० वर्ष उमेर समूहका ६ जना बालकको उद्दार भएको उनले जानकारी दिए । उनीहरुको शिक्षादीक्षा, पालनपोषणको काम भीओसीले गर्नेछ ।
धरानमा अझै सडक मानवहरु रहेको र उनीहरुलाई इटहरीको माया घरमा उद्दार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । धरानमा अझै ती किशोरी पनि सडकमै हिँडिरहेको भेटिने गरेको र उनीहरुको पनि उद्दारको तयारी भइरहेको उनले जानकारी दिए । यसअघि उपमहानगरपालिकाले ११ जना बालबालिका पठाइसकेको उनले जानकारी दिए । ‘खासमा त्यहाँ यहाँबाट उद्दार गरिएकाहरुलाई राम्रो भइरहेको पाएका छौं’, उनले भने, ‘लगनशील बनाउने गर्दा रहेछ, पढाउने लगायतका काम गरिरहेको बुझेका छौं ।’
लकडाउनले चकमन्न बनेको भानुचोकमा ६ भाइ खाना पकाएर खाने गरेको भिडियो र समाचार यसअघि हाम्रो कोशी आवाज डटकममा सार्वजनिक भएको थियो । रङ्गको भाँडोमा खाना, थालमा तरकारी पकाएर खाने उनीहरुको कष्टकर जीवन बितिरिहेको थियो ।
लोकतान्त्रिक चौतारी नै उनीहरुको सहारा बनेको थियो । उनीहरुले लोकतान्त्रिक चौतारीमुनि खाना पकाएर खाने र त्यही चौतारीमै सुतेर रात कटाउने गर्दथे ।
अझ अचम्म त के थियो भने रङ्गको भाँडोमा खाना पकाउने र थालमा तरकारी बनाएर उनीहरुले खाने गर्दथे । लकडाउनमा त उनीहरु तीनदिनसम्म भोकै पनि बसेका थिए ।
धरानमा कहिल्यै निमिटयान्नै हुन सकेका छैनन् सडक मानव । अघिल्लो वर्ष सरकारले ३१ बालबालिकाको उद्धार गरेको थियो तर त्यसपछि पनि भानुचोकमा सडक बालबालिका र सडक मानव देखिने क्रम रोकिएको छैन । अहिले पनि धरानमा मानिसले खाना बाँड्छन् भन्ने सुनेपछि अन्य ठाउँका सडक मानव यहाँ थुप्रिने गरेको प्रहरीले जनाएको छ ।





